राहत सामाग्री बोकेर बाग्लुङ लागे पल

कोभिड १९ का कारण देश लकडाउन भएपछि फिल्ममा प्राविधिकको रुपमा काम गर्ने हजारौंको रोजीरोटी गुम्यो । उनीहरुलाई दैनिक गुजरा चलाउन पनि सकस भएपछि अभिनेता पल शाहले पाँच लाख बराबरको खाद्यन्न सहयोग गरे । लकडाउन खुकुलो भएपछि म्यूजिक भिडियोको छायांकनमा व्यस्त भएका उनी अहिले बाढी-पहिरो पीडितलाई सहयोग गर्न अगाडि सरेका छन् । 

केही दिन अगाडि उनी काठमाडौंबाट राहत सामाग्री बोकेर कर्णाली अञ्चलको कालिकोट पुगेका थिए । आफ्नो नाममा स्थापना गरेको पल शाह फाउन्डेसनमार्फत् उनले बाढी-पहिरोबाट पीडित भएका त्यहाँका ४० घरपरिवारलाई खाद्यन्न तथा लत्ता कपडा सहयोग गरेका थिए । यसबीच, उनी बाग्लुङका बाढी-पहिरो पीडितलाई राहत वितरण गर्न मंगलवार त्यसतर्फ प्रस्थान गरेका छन् ।

 मंगलवार आफ्नो फेसबुक पेजमा चामलको बोरा बोकेको र आँबु खैरेनीको झरनाको आडमा खाना खाइरहेको तस्विर शेयर गर्दै पलले सिरक-डसना, नुन-तेल, चामल लिएर बाग्लुङतर्फ लागेको जानकारी दिएका छन् । पललाई राहत वितरणमा सघाउन मोडल तथा गायक दुर्गेश थापा पनि बाग्लुङ लागेका छन् । बुधवार उनीहरुले बाग्लुङका पहिरो पीडितलाई राहत वितरण गर्नेछन् । 

भदौ १७ गते बाग्लुङको ढोरपाटन नगरपालिकामा पहिरो जाँदा १४ जनाभन्दा बढीको मृत्यु भएको थियो भने सयौं घरविहीन भएका थिए । पहिरोका कारण विस्थापित परिवारलाई राहत वितरण गर्न पल बाग्लुङ लागेका हुन् । कोरोना महामारीभन्दा अगाडि म्यूजिक भिडियो र फिल्मको छायांकनमा व्यस्त हुने गरेका उनी लकडाउनयता सामाजिक कार्यमा अग्रसर भएका छन् ।

 

प्रतिक्रिया

रिपोर्टिङ गर्दागर्दै कोरोना संक्रमित बन्न पुगेका पत्रकार यस्तो भन्छन