क्यालिफोर्नियाको जंगलमा सल्किएको डढेलोमा परेर तीन व्यक्तिको मृत्यु

क्यालिफोर्निया: उत्तरी क्यालिफोर्नियाको जंगलमा सल्किएको डढेलोमा परेर बुधबार तीन व्यक्तिको मृत्यु भएको छ। अग्नि नियन्त्रकहरुका अनुसार तीव्र गतिका साथ फैलिएको डढेलोका कारण वन छेउमा घरबास हुने हजारौं व्यक्ति आ-आफ्ना घर छाड्न बाध्य भएका छन्।

पहाडी इलाकाको वन डढेलो फैलिएर घरबस्ती भएको तल्लो समथर भू-भागमा आइपुगेको अधिकारीहरुले बताएका छन्।

क्यालिफोर्नियाको राजमार्ग गस्ती प्रहरी बेन ड्रापरका अनुसार एक व्यक्ति कारभित्र घाइते अवस्थामा भेटिएका थिए।

सान फ्रान्सिस्कोको उत्तरपूर्वी क्षेत्रमा सयौं, हजारौं घर डढेलोको चपेटामा आएको र अधिकांश ती घरमा क्षति पुगेको अग्निनियन्त्रकहरुले बताएका छन्।

उक्त आगोले प्याराडाइज क्षेत्रमा पनि विनाश निम्त्याउने खतरा बढाएको छ। यो क्षेत्र गत वर्षको विनाशकारी वन डढेलोबाट पनि क्षतिग्रस्त भएको थियो। सुख्खा मौसमका कारण वनडढेलो तीव्र रुपमा फैलिएको छ।

मौसम पूर्वानुमान अधिकारीहरुका अनुसार केही दिनभित्र मौसममा सामान्य सुधार आउने छ। यसबाट अग्नि नियन्त्रकहरुले सन्तोषको केही सास फेर्न पाउने अपेक्षा गरिएको छ।

उता वासिङ्टन राज्यमा पनि एकै दिन विशाल क्षेत्रमा आगो फैलिएको छ। आगलागीका कारण अरेगन र इडाहो शहरबाट धेरै मानिस अन्यत्र पलायन हुनु परेको छ। कोलोराडो र मोन्टानामा भने उत्तर ध्रुवीय चिसो हावाका कारण डढेलो केही मत्थर देखिएको छ।

अगस्टको मध्यदेखि फैलिएको वन डढेलोका कारण हालसम्म ११ जनाको मृत्यु भइसकेको छ भने तीन हजार ६०० भन्दा बढी घर क्षतिग्रस्त भएका छन्।

जंगलबाट आएको बुधबारको बाक्लो धुँवा पूरै राज्यमा फैलिएको थियो।

क्यालिफोर्निया विश्वविद्यालयका जलवायू विज्ञान वैज्ञानिक डानियल स्वेनले विगत २४ घण्टाको अवधिमा कम्तीमा ४०० वर्ग माइल (एक हजार ३६ वर्ग किलोमिटर) क्षेत्र सखाप भएको जानकारी दिए। रासस/एपी

 

प्रतिक्रिया