योशिहिडे सुगा : किसानको छोरो, सांसदको पिएदेखि प्रधानमन्त्रीसम्म

योशिहिडे सुगा जापानका नयाँ प्रधानमन्त्री चयन भएका छन्। बुधवार संसदमा भएको निर्वाचनबाट ७१ वर्षीय सुगा प्रधानमन्त्रीमा चयन भएका हुन्।  

निवर्तमान प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिएपछि सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीले सोमवारमात्रै सुगालाई पार्टीको नयाँ नेता चुनेको थियो।

सात वर्ष ८ महिना प्रधानमन्त्री पद सम्हालेका आबेले दुई साताअघि स्वास्थ्यको कारण विश्राम लिने घोषणा गरेका थिए।

नयाँ प्रधानमन्त्रीका काँधमा मुलुकको अर्थतन्त्र उकास्नेदेखि आगामी वर्ष ओलम्पिक आयोजना गर्नेसम्मका जिम्मेवारी छ। उनको नेतृत्वलाई कोभिड-१९ को संकटका क्रममा सुरक्षित राजनीतिक अवतरणका रुपमा पनि लिइएको छ।

निवर्तमान प्रधानमन्त्रीका आबेको टिममा रहेर काम गरेकाले उनीप्रति धेरै अपेक्षा छ। सुगाले जापानको विकासका लागि आबेले सुरु गरेका कामहरुलाई निरन्तरता दिने बताएका छन्।

जापानमा आगामी संसदीय चुनाव सेप्टेम्बर २०२१ मा हुँदैछ। सुगा यो कार्यकालमा झण्डै एक वर्षका लागि प्रधानमन्त्री चुनिएका हुन्।

को हुन योशिहिडे सुगा?

एक स्ट्रबेरी किसान परिवारमा जन्मिएका योशिहिडे सुगाको देशकै शीर्ष पदसम्म पुग्ने संघर्षको कथाले उनलाई त्यो राजनीतिक अभिजात्य वर्गबाट अलग गर्छ, जसको लामो समयदेखि जापानको राजनीतिमा दबदबा छ।

उनको राजनीतिक यात्रा त्यतबेला सुरु भयो, जब उनी टोकियोस्थित होसेई विश्वविद्यालयमा ग्राजुएसन (स्नातक) गरेलगत्तै संसदीय चुनाव अभियानमा होमिए। उनले लिबरल डेमोक्रेटिक पार्टीका एक सांसदको सेक्रेटरीको रुपमा काम गरे। अनि उनले आफ्नो राजनीतिक करियरको सुरुवात गरे।

सन् १९८७ मा उनी योकोहामा सिटी काउन्सिलका लागि चुनिए। सन् १९९६ मा पहिलोपटक जापानको सांसद निर्वाचित भए। सन् २००५ मा तत्कालीन प्रधानमन्त्री जुनिचिरो कोइज़ुमीले सुगालाई आन्तरिक मामिला र सञ्चार विभागको वरिष्ठ उपमन्त्री बनाए।

कोइजुमीपछि प्रधानमन्त्री बनेका सिन्जो आबेले सुगालाई तीन क्याबिनेट पोस्ट दिएर वरिष्ठ मन्त्रीको दर्जा दिए। सुगाले सन् २००७ सम्मा यो जिम्मेवारी निभाए। प्रधानमन्त्री आबेसँग सुगाको घनिष्ठ सम्बन्ध बन्यो। सुगाको कामबाट प्रभावित आबेले सन् २०१२ मा फेरि प्रधानमन्त्री बनेपछि उनलाई मन्त्रिपरिषदको मुख्य सचिवको प्रभावशाली पदको जिम्मेवारी दिए।

पछिल्लो ८ वर्षमा आबेको ‘दाहिने हात’ भनेर परिचित सुगा चर्चामा रहे। उनले हरेक दिन दुई पटक मिडिया ब्रिफ्रिङ गर्नु पर्थ्यो। यो पनि मानिन्छ कि जापानको जटिल कमर्चारीतन्त्रको व्यबस्थापन पनि सुगाले नै गरिरहेका थिए।

जापानमा प्रशासनको सार्वजनिक मुहार मानिने सुगाका अगाडि यो पनि जिम्मेवारी थियो कि सम्राट अकिहितोले पद त्यागेपछि २०१९ मा नयाँ शाही युगको नाम के राख्ने? नयाँ सम्राट नरुहितो मातहतको शाही युगको नाम राखियो- रिवा। जसको अर्थ हुन्छ सुन्दर सद्भाव।

सुगाले नै नयाँ शाही युगको नाम ‘रिवा’ घोषणा गरेका थिए। जसका कारण जापानमा उनलाई धेरैले प्रेमपूर्वक अंकल रिवा पनि भन्ने गर्छन्।

यस वर्ष जब २८ अगस्टमा प्रधानमन्त्री आबेले खराब स्वास्थ्यका कारण पद छोड्ने घोषणा गरे, त्यसैबेलादेखि मानिसहरुले आबेको उत्तराधिकारी सुगा नै हुने अनुमान लगाए।

२ सेप्टेम्बरमा सुगाले औपचारिक रूपमा आफ्नो उम्मद्वारी घोषणा गरेका थिए, तर त्यसअघि नै पार्टीका अधिकांश सदस्यले सुगालाई आफ्नो समर्थन दिने घोषणा गरिरहेका थिए।

पार्टीमा बलियो समर्थनका बीच १४ सेप्टेम्बरमा उनलाई पार्टीको नेता चुनियो। जापानमा पहिलोपटक सुगा यस्तो नेता भएर निस्किए जो कुनै पार्टीको गुटबाट आएका होइनन् न त उनलाई राजनीतिक विरासत नै मिलेको हो। आफ्नो कामले सबैलाई प्रभावित पारेर देशको सर्वोच्च पदमा पुगे।  

जापानको इतिहासमा सबैभन्दा लामो समयसम्म नेता रहेका सिन्जो आबेको कार्यकालपछि अब योशिहिडे सुगाले नै देशमा निरन्तरता र स्थायित्वका प्रतिनिधित्व गर्नेछन्।

पार्टीमा नेता पदको लागि उम्मेदवारीको घोषणा गर्दा नै सुगाले आबेको आर्थिक नीति जारी राख्ने बताएका थिए, जसलाई आबेनोमिक्स भनिन्छ। आबेले यो नीति मौद्रिक रूपमा सहज अवस्था, राजकोषीय प्रोत्साहन र संरचनात्मक सुधारहरुको आधारमा बनाएका थिए।

सुगाको लक्ष्य जापानको युद्धपछिको शान्तिवादी संविधानमा संशोधन गर्नु रहेको छ। जसले सेल्फ डिफेन्स फोर्सलाई वैध बनाउन सकियोस्। यो आबेको पनि प्रमुख एजेण्डा थियो। पुरा गर्न नसकेकोमा आबेले राजीनामा दिन देश र जनतासँग माफी मागेका थिए। अब यसलाई सुगाले अगाडि बढाउनेछन्।

यद्यपि तत्काल सुगाको चुनौती भनेको कोरोना महामारी र यसबाट उत्पन्न आर्थिक संकटसँग जुध्नु नै हुनेछ। सुगा परीक्षण बढाउन चाहन्छन् र उनको लक्ष्य आगामी वर्षको पहिलो ६ महिनाभित्र उपयुक्त भ्याक्सिन आविष्कार गर्ने पनि छ।

उनी न्यूनतम मज़दूरी बढाएर, कृषि सुधारलाई बढावा दिने र पर्यटनलाई बढावा दिएर क्षेत्रीय अर्थव्यवस्थालाई पुनर्जीवित गर्न चाहन्छन्।

विदेश नीतिको मोर्चामा पनि उनी अमेरिका र जापानसँग लामो समयदेखि चलिरहेको गठबन्धनलाई प्राथमिकता दिनेछन्। उनी स्वतन्त्र इण्डो-प्यासिफिक चाहन्छन्।

सुगाको लक्ष्य चीनसँग स्थिर सम्बन्ध राख्ने पनि हो।

त्यसैगरी सन् १९७० र ९१८० को दशकमा उत्तर कोरियाद्वारा जापानी नागरिको अपहरण मुद्दा हल गर्ने प्रयास पनि जारी राख्नेछन्। यसमा उत्तर कोरियाली नेता किम जोङ उनसँग बिना शर्त बैठकको प्रस्ताव पहिल्यै नै गरि सकिएको छ।

बीबीसी हिन्दीको सहयोगमा

प्रतिक्रिया