चैत ९ गतेदेखि बन्द रहेको चन्द्रागिरि केबलकार सञ्चालन

कोरानाका कारण लकडाउन सुरु भएदेखि नै बन्द रहेको चन्द्रागिरि केबलकार बिहीबारबाट सञ्चालनमा आएको छ ।

लामो समयदेखिको बन्दाबन्दी र निषेधाज्ञाका कारण गत चैत ९ गतेदेखि बन्द रहेको केबलकारलाई स्वास्थ्य मापदण्ड अपनाएर बिहीबारबाट सञ्चालनमा ल्याइएको हो ।

केबलकार सञ्चालनका लागि सवै आवश्यक तयारी यसअघि नै गरिएको र आवश्यक सवै स्वास्थ्य मापदण्ड लगाएत अन्य व्यवस्था गरिएको चन्द्रागिरी हिल्सले जनाएको छ ।

चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक अभिषेकविक्रम शाहले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड अनुरूप कम्पनीले केबलकार र रिसोर्ट सञ्चालनको तयारी गरेको जानकारी दिए ।

यात्रुलाई सामाजिक दूरी कायम गराउन प्रवेशद्वारदेखि हरेक ठाउँमा गोलो घेरा लगाउने, मास्क, स्यानिटाइजर र पञ्जाको अनिवार्य व्यवस्था गरी प्रत्येक केबलकारमा आधा मात्र यात्रु राखेर सेवा प्रदान सुरु गरिएको शाहले बताए ।धार्मिक र ऐतिहासिक दुई कुरा जोडिएको काठमाडौंको चन्द्रागिरि पर्यटकको नयाँ गन्तव्यस्थल बन्न सफल भएको छ ।

प्रतिक्रिया