तरकारी खेतीबाट आम्दानी राम्रो गर्दै भागिरथ

नेपालगञ्ज : घरमा खान लाउन मुस्किल हुँदा दिनहुँ मजदुरी गरेर साँझ विहानको छाक टारे ।

१० जनाको परिवारलाई मजदुरी गरेर खान मात्र ठिक्क हुन्थ्यो ।  चाड पर्व आउँदा मिठो मसिनो खाने र राम्रो लुगा लगाउने रहर मनमै हराएर जाने गर्दथ्यो ।  यो परिस्थिति २०६८ साल अघिको हो, बाँके बनकटुवा पेडारीका भागिरथ थारुको । पहिले र अहिलेको कथामा आकाश पातालको फरक छ ।

तरकारी हाट बजारमा उनले ल्याएको तरकारी लिन हारालुस हुन्छ । अर्गानिक तरिकाले उत्पादन गरेका कृषक भागिरथले मौसमि तथा बेमौसमि तरकारी लगाउने गर्छन ।मजदुरी गरेर ल्याएको पैसाले घर खर्च चलाउनै कठिन भएपछि उनले तरकारी खेती गर्न थालेका हुन् ।

उनले एकै वर्षमा यति धेरै तरकारी लगाउन सक्ने भएका भने होइनन् । व्यवसायिक तरकारी खेतीमा अग्रणी देखिएका भागिरथले शुरुमा ५ कट्ठा क्षेत्रफलमा टमाटर, गोभी र खुर्सानी खेती गरेर तरकारी खेतीमा व्यवसायीकरण शुरु गरेका हुन् ।

अहिले कृषक भागिरथले १ विगाह क्षेत्रफलमा मौसमी र बेमौसमी तरकारी खेती गर्छन् । उनी गाउँकै अगुवा कृषकका रुपमा आफूलाई चिनाउन सफल छन् । होलसेलमा तरकारी विक्रि गर्ने गरेका भागिरथले अन्य भन्दा सस्तो मुल्यमा उपभोक्ततालाई तरकारी दिने गर्छन ।

प्रतिक्रिया