काठमाडौं : संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तत्काल नेपालमा कृषि मल कारखाना स्थापनाका लागि काम अगाडी बढाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको छ।
कृषकहरुले बाली लगाउने समयमा रासायनिक मल नपाउने समस्या विगत लामो समयदेखि भोग्दै आएकोले समस्या समाधान तर्फ मन्त्रालयलाई गम्भिर हुन समितिले निर्देशन दिएको हो। जीविकोपाजर्नको आधार र कुल ग्रहस्त उत्पादनमा प्रमुख योगदान पुर्याउने कृषि क्षेत्रमा मलको माग उच्च रहकाले देशभित्र नै मल कारखाना स्थापनाका लागि विलम्ब नगरी आवश्यक प्रक्रिया अगाडी बढाउन भनिएको हो।
शुक्रवार भएको छलफलपमा समिति सभापति पूर्णकुमारी सुवेदीले नेपालमा आवश्यक मलको मौज्दात र आयात प्रक्रियामा रहेको मलको परिमाणका आधारमा आगामी दिनमा अभाव नहुने कुरामा सजग हुन बताइन्। यस्तै समितिले कृषकहरुलाई समयमै मल उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउन र चालु आर्थिक वर्षमा रासायनिक मल आयात गरिएको मलको परिणाम र वितरणको तयारीका विषयमा विस्तृत विवरण ७ दिनभित्र समितिमा पेश गर्न पनि निर्देशन समेत दिएको छ।
अहिले देशभरीमा ५० प्रतिशत कृषकले मात्रै सरकारी अनुदान प्राप्त गरिरहेको सन्दर्भमा मलमा दिएको अनुदानलाई पुनरावलोकन गरी सबै किसानहरुलाई रासायनिक मल अनुदानमा दिन, तराई र मध्य पहाडी जिल्लामा गोदाम घरको व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको समिति सभापति सुवेदीले बताइन्।
समितिले मल क्षेत्रसँग सम्बिन्धित समस्या सामधानका लागि मन्त्रालयले बनाएका अल्पकालिन र दीर्घकालिन योजनाहरु अबिलम्ब समितिलाई उपलब्ध गराउन पनि निर्देशन दिएको छ।
-एनएएनको सहयोगमा










