संविधान दिवसको अवसरमा नेपालगन्जका ४ जनालाई कैदी माफ

नेपालगन्ज : संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ८९ कैदीबन्दीको कैद माफी मिनाहा गरेकी छन् । राष्ट्रपति भण्डारीले कैद सजाय मिनाहा गरेकामध्ये नेपालगञ्ज कारागारका चार जना परेका छन् ।

जेलर देवेन्द्र श्रेष्ठका अनुसार बाँके कम्दीका ललित क्षेत्री भन्ने असिम क्षेत्री, खजुराका उमेश थापा, कोहलपुरका शेरबहादुर बस्नेत र जाजरकोटका मानसिँह कामी टमटाको कैद मिनाहा भएको हो । क्षेत्रीलाई ज्यान मार्ने उद्योग र डाकाचोरी, थापा तथा बस्नेतलाई सवारी ज्यान र टमटालाई कर्तब्य ज्यान मुद्दा लागेको थियो ।

कारागार प्रशासनले पाँच जना जेष्ठ नागरिकको कैद मिनाहाका लागि अनुरोध गरेपनि उनीहरुले माफी पाउन सकेनन् । अधिकांश जेष्ठ नागरिकक जबरजस्ती करणीमा जेल परेका हुन् । नेपालगञ्ज कारागारमा हाल ७ सय ८५ जना कैदीबन्दी रहेका छन् ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयबाट जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया