कोहलपुर : बाँकेको कोहलपुर नगरपालिका भित्रका विद्यालयहरु आंशिक रुपमा आजदेखि खुलेका छन् । कोरोना कहरका कारण गत चैत्र ११ गतेदेखि बन्द रहेका नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयहरु खुलेका हुन् ।
कोहलपुर नगरपालिका नगर शिक्षा शाखाको निर्देशन तथा सर्वदलीय बैठकको निर्णय अनुसार विद्यालय आजदेखि खुलेपछि पढाई हुन भने केही दिन लाग्ने विद्यालयहरुले जनाएका छन् । नगर भित्रका सरकारी र नीजि गरेर पहिलो चरणमा करिब तीन दर्जन विद्यालयहरु पठनपाठन हुनेछ ।
आज आइतबारदेखि कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई मात्र क्लास उपस्थिती गराएर पढाउन पाइने नगर प्रमुख लुट बहादुर रावतले जानकारी दिए । कोहलपुर नगरभित्र माध्यामिक तहका सामुदायिक १३ र संस्थागत २२ वटा विद्यालय रहेका छन् ।
आज नै नगर शिक्षा शाखाले गरेको निर्देशन अनुसार कार्ययोजना पेस गर्नुपर्ने भएकाले विद्यालय खुलेपछि सबै विद्यालयहरुमा पढाई नहुने सम्बद्ध विद्यालयहरुले जनाएका छन् ।
कतीपय विद्यालयहरुले भने अनलाइनबाट नै विद्यार्थीहरुलाई पढाउने जनाएका छन् । कोहलपुर–१० मा रहेको त्रिभुवन नमूना माध्यामिक विद्यालयकी प्रधानाध्यापक देवका बस्नेत ‘थापा’ले कक्षा ८ देखि १० सम्म अनलाइन मार्फत कक्षा सञ्चालन सुरु हुने बताइन् ।
‘हामी कक्षा कोठामा विद्यार्थी राखेर पढाउने छैनौं’ उनले भनिन्, ‘कक्षा ८ देखि १० सम्म आइतबारदेखि अनलाइनबाट नै पढाउनेछौं ।’ विद्यालयले उच्च मावी तहमा भने गत असार महिनादेखि नै अनलाइन कक्षा लिइरहेको छ । थापाले कक्षा १ देखि ७ सम्म भने टोल शिक्षा सुरु गर्ने तयारी थालिएको जानकारी दिइन् ।
टोल शिक्षा अध्यापनको लागि कोरोना महामारीलाई मध्यनजर गर्दै निश्चित समूहमा स्वास्थ्य सुरक्षासहित शिक्षकहरु टोल–टोलमा परिचालन हुने उनले बताइन् । कृष्ण मावि कौशिलानगरका प्रधानाध्यापक विजय मल्लले पढाइ सञ्चालनको लागि आवश्यक तयारीको लागि विद्यालय खुलेपनि पढाइ सुरु हुने केही दिन लाग्ने बताए ।
उनका अनुसार नगर शिक्षा शाखाको निर्देशन अनुसार कार्ययोजनाका विषयमा छलफल गर्नको लागि आज विद्यालय व्यवस्थापन समितिको बैठक बोलाइएको छ ।
शनिबार बसेको स्टाफ बैठकले पढाइ सञ्चालन, डेस्क, बेन्च व्यवस्थापन र सरसफाई लगायतका तयारी गर्ने निर्णय गरेको उनले जानकारी दिए । सामुदायिक विद्यालय जस्तै यहाँका संस्थागत विद्यालय समेत विद्यालयमा पठनपाठन गर्न आतुर छन् ।
नमूना विद्यालय सदनका संस्थापक शिव डाँगीले आफूहरु विद्यालय सञ्चालन गर्न आतुर रहेको बताए । नगर शिक्षा समितिका सदस्य समेत रहेका उनले सोमबारदेखि ८ देखि १० कक्षामा आवश्यक सुरक्षासहित पढाइ सुरु हुने जानकारी दिए ।











