नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ पिप्रहवाका किसान प्रह्लाद वर्माको घरमा खाद्य सामाग्रि राख्ने खालि ठाउँ छैन । उनले आफ्नो घरको अधिकाश स्थानमा मकै जम्मा गरेर राखेका छन् । मकैले राम्रो मुल्य पाउला र विक्रि गरौला भन्ने सोचेका बर्माको सोच पुरा होला जस्तो छैन ।
मनग्गे आम्दानी हुने आशाले मकै खेती गरेका वर्माको आशा यसपाली पुरा हुन नसक्ने देखिएको छ । गतवर्ष ३३ सय रुपैयाँ क्विन्टल मुल्यमा मकै बेचेका उनले यसपाली १५ सय रुपैयाँ मात्रै मुल्य पाउने भएपछि मुल्य बढेपछि मात्रै बेच्ने भनेर अझै घरमा स्टोर गरेर राखेका छन् । तर, सबै किसानले प्रह्लादले जस्तै मुल्य बढ्ने दिन कुरेर बस्ने अवस्था छैन ।
कृषिबाटै जिविकोपार्जन गर्दै आएका किसानहरुको सबै खर्च फसल बेचेमात्रै चल्ने हो । त्यही भएर अधिकांशले सस्तो मुल्यमै मकै बेचिसकेको रामजानकी कृषक समुहका सचिव राजित राम चौधरीले बताए । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका ७ र डुडुवा गाउँपालिकाका ४ गरि ११ वटा वडामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत मकै जोन परियोजना लागु छ ।
उक्त परियोजनाले सहयोग गर्न थालेपछि बाँकेका किसानहरुले वैसाख, जेठ र असार महिनामा मकै खेतिगर्ने गरेका छन् । गत आर्थिक वर्षमा परियोजना कायान्वर्यन क्षेत्रमा ४९० हेक्टर जमिनमा मकै खेती गरिएको परियोजना कार्यान्वयन ईकाई, मकै जोन, बाँकेको कार्यालयले जनाएको छ । परियोजनाले मकै उत्पादकत्व बढाउनसीप, प्रविधि र यन्त्रहरुमा सहयोग गर्ने गरेको छ ।
गतवर्ष जोनभित्रका किसानहरुले ३ हजार ८ सय ६६ टन मकै उत्पादन गरेका थिए । यसवर्ष किसानहरुको लगानी नै उठ्न नसकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ पिप्रहवास्थित रामजानकी कृषक समुहका सचिव चौधरी बताउँछन् । सरकारले मकैको समर्थन मुल्य तोकेको भए किसानहरुले घाटा खानु नपर्ने उनीहरुको भनाई छ । त्यसैमाथी कोरोना महामारीले किसानहरुले आधा मुल्यमा मकै बेच्नुपरेको चौधरीको भनाई छ ।
एकातिर कोभिड १९ का कारण र अर्काेतिर समर्थन मुल्य नतोकिँदा सरकारले प्रोत्साहन गरेकै परियोजना अन्तर्गतका किसानहरुले उचित मुल्य नपाएको परियोजना कार्यान्वयन ईकाई, मकै जोन, बाँकेका प्रमुख कफिल अहमद पनि स्वीकार गर्छन् । आगमाी वर्षका लागि समयमै समर्थन मुल्य तोक्ने गरि कार्यक्रम तय भएको उनले जानकारी दिए ।
मकै जोन लागु हुनुअघि अन्य बाली लगाउने गरेका किसानहरु आम्दानी राम्रो हुन आशाले मकै खेतिमा आकर्षित भएका थिए । तर, यसवर्ष पनि उनीहरुको हातमा निराशा हात लाग्यो ।










