नेपालगंज सिमानाकाको दृश्य : पहिले आउनेको भिड, अहिले जानेको भिड

फोटो : बिमल चन्दको फेसबुकबाट

नेपालगंज : माथिको दृश्य नेपालगन्ज सिमानाका जमुनाहको हो , कोरोना कहर सुरु भए पछी यस्तो दृश्य दोस्रो पटक देखिएको हो ।

कोरोनाको सुरुवाती चरणमा भारतबाट नेपालगंज सिमानाका हुँदै नेपाल फर्कने मजदुरहरुको दृश्य जस्तै अहिले फेरी देखिएको छ तर अहिले भने भारतबाट फर्किने नभएर भारत जानेहरुको दृश्य हो यो ।

भारतमा कोरोनाको कहर बढ्दै जाँदा लाखौं नेपाली अनेकौं दुःख र कष्ट सहँदै नेपाल फर्किए । कतिपय नेपाली सयौं किलोमिटर हिडेरै नेपाली सीमासम्म आए ।

भारतमा कोरोनाका कारण आर्थिक क्षेत्र ठप्प भएपछि रोग र भोकसँग जोगिन नेपाल फर्किएका नेपाली भारतमा लकडाउनको अन्त्य हुँदै आर्थिक क्षेत्र सञ्चालनमा आएपछि रोजगारीका लागि फेरी भारत फर्किन लागेका छन् ।

चैत्र महिनामा यस्तै दृश्य नेपालगंज सिमानाका जमुनाहमा देखिएको थियो , उ बेला कोरोनाको कहर सुरुवाती चरणमा थियो । भारतमा सुरु भएको लकडाउन संगै रोजगारी गुमेपछि नेपाल फर्कनेहरूको दृश्य आज रोजगारीकै लागि फेरी भारत नै फर्कनेहरूको दृश्यमा उही व्यक्ति, उही पिडा अनि उही कोरोनाको त्रास र भोकको त्रास छ ।

उ बेला रोगको पिडा थियो , रोजगारी गुमेको पिडा थियो अनि परिवारको मायाले स्वदेश फर्कन बाध्य पारेको थियो अहिले कोरोनाको त्रास त छदै छ तर परिवार पाल्नुपर्ने बाध्यता, नेपालमा रोजगारी नपाइएको तितो यथार्तले फेरी भारत नै फर्किन बाध्य पार्यो , दैलेखका ओम प्रकास सुनारले बताए ।

भारतमा कोरोनाको अत्याधिक जोखिम रहेको, संक्रमित बढ्दै गएको र कोरोनाका कारण मृत्युहुनेहरुको संख्या बढ्दै जाँदा पनि भारत जाने नेपालीहरु सीमामा लामबद्ध देखिन्छन् ।

उनीहरुको एउटै भनाई पाइन्छ, ‘कोरोना त लागेपछि मेरिएला, यहाँ त भोकै मर्ने अवस्था आइपरिसकेको छ ।’ कोरोनाका कारण आर्थिक क्षेत्र ठप्प हुँदा देशभित्रै रोजगारीमा रहेका पनि बेरोजगार बनेका छन् ।

त्यसमाथि वैदेशिक रोजगारीमा गएकाहरु फर्किएपछि बेरोजगारीको अवस्था विकराल बन्दै गएको छ । विदेशबाट फर्किएको जनशक्तिलाई रोजगारीका लागि तीन वटै तहका सरकारले रोजगारमूलक कार्यक्रम ल्याएको दाबी गर्दै आएपनि त्यसले लाखौं बेरोजगारहरुलाई सम्बोधन गर्न सक्ने अवस्था छैन । त्यसैले पनि कोरोना सँग निडर हुँदै कामका लागि भारत जानेहरु दैनिक थपिन थालेका छन् 

प्रतिक्रिया