जुम्लाका किसानलाई यतिबेला कोदो टिप्न भ्याइनभ्याइ भएको छ । गत बैशाखमा छरेको कोदो पाकेपछि किसानलाई टिप्ने चटारो सुरु भएको हो ।
तिला गाउँपालिका – १ का स्थानीयवासी माने बढाका अनुसार कोदो पाकेपछि यहाँका किसानलाई टिप्ने चटारो भएको र समयमै बर्षा भएपछि विगतमा भन्दा यसवर्ष कोदोको उत्पादन बढेकोे बताउनुभयो ।
उहाँले भन्नुभयो,“कोदो जिल्लाका आठवटै स्थानीय तहमा उत्पादन हुने गरेको छ ।” कोरोना भाइरस तथा निषेधाज्ञाले छ महिनासम्म घर भित्र बसेका स्थानीयवासी कामको समय आएसँगै किसानले उत्पादन गरेको अन्यबालि पाकेपछि घरमा थन्क्याउन जिल्लाका किसानलाई भ्याइनभ्याइ भएको बुढाले बताउनुभयो ।
मुख्य बालीभित्र पर्ने कोदो टिप्नका लागि किसानलाई बिहानबाट बेलुकासम्म भ्याइनभ्याइ छ । यो वर्ष उत्पादनमा समेत बृद्धि हुने किसानहरुले बताएका छन् ।
कोदोमा कुनै रोग किरा नलाग्नु र बेला बेलामा पानी परिरहेको कारण कोदो राम्रो उत्पादन भएको कृषि विकास कार्यालयले जनाएको छ । रासस










