नेपालगन्ज : चैत ११ देखी सरकारले देशभर लकडाउनको आव्हान गर्यो, कोरोना भाइरसको कहर, त्रास अनि संक्रमणको रोकथामका लागी बाँकेमा खटिने सुरक्षाकर्मीको नाम लिदा सम्भवत पहिलो नम्बरमा आउछन् जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्री ।
कोरोनाको सुरुवाती कहर, राहतको वितरणको समयमा भिड हुन नदिनु, राहतको माग गर्दै कार्यालय घेराउ गर्ने स्थानियको चित्त बुझाउनु , बजार बन्द गर्नु त कहिले कोरोना पोजेटिभ देखिएको क्षेत्रलाई सिल गर्ने जस्ता कार्य उनको नयाँ थपिएको जिम्मेवारी थियो । दैनिक कामकाज र जिल्लाको सुरक्षा ब्यवस्था मिलाउनुपर्ने चुनौती संगै कोरोना महामारीले थपिदिएको नयाँ चुनौती उनको लागी पनि नयाँ नै थियो ।
विश्व जगतले नबुझेको महामारी, जनमानसमा परेको महामारीको त्रास अनि भारतबाट फर्कने मुख्य नाका मध्यको एक सिमानाका रहेको बाँके जिल्ला आफैमा चुनौतीपूर्ण थियो तर पनि बाँके प्रहरी, नागरिक समाज, सबै स्थानियतहका जनप्रतिनिधि, प्रशासन, स्वास्थ्यसंग सम्बद्ध निकाय सबैको समन्वय र साथले बाँके जिल्लामा कार्यगर्न सहज भएको बताउछन्, प्रहरी निरीक्षक सुरज खत्री ।
नेपाल प्रहरीको अधिकृतको तालिम सकेर जिल्ला प्रहरी कार्यालय बाँकेमा पहिलो पोस्ट लिएका प्रहरी निरिक्षक खत्रीमा रहेको बिबेक र युवा जोशले बाँकेमा विषम परिस्थितिमा फ्रन्टलाइनमा रहेर कार्य गरे, हुनसक्ने वा सम्भावित घटनालाई रोकेको नेपालगन्जबासिको बुझाइ छ ।

कोरोना कहरका बेला भारतबाट नेपालगन्ज हुँदै स्वदेश फर्कने बाँके लगायत देशका विभिन्न जिल्लाका नागरिकलाई सिमानाका देखी स्थानिय तहसम्म पुर्याउने र क्वारेन्टाइनको ब्यवस्थापन र सुरक्षामा खटिएका प्रहरीको कमान्ड सम्हालेका खत्रीसंग अनगिन्ती तितामिठा अनुभव छन् ।
पुष महिनाको जाडोमा बाँकेमा आएका खत्री बाँके प्रवेशको केही महिनामै कोरोनाको कहर सुरु भयो । सुरुवाती दिनमा सिमानाकामा नेपालीहरु भित्रीने र उनिहरुलाई घरसम्म जाने ब्यवस्थापन मिलाउन जुटेका खत्रीको सामु त्यसपछी भने राहत वितरणका क्रममा हुनसक्ने भिड, राहतका लागी भएका बिरोध र धर्नालाई सम्झाएर सम्बन्धित निकायसंग समन्वय गरेर चित्त बुझाउनु पर्ने चुनौती रहेको बताउछन् ।
‘हरेकका आफ्नै समस्या थिए, भोकको समस्या रोगको भन्दा पनि ठूलो रहेको हामिले देख्यौ, उहाँहरुलाई रोग भन्दा पनि पहिला खानको चिन्ता थियो । नेपालगन्जमा बाँके प्रहरीले त्यस्ता हुनसक्ने सम्भावित घटनालाई सम्बन्धित सबै निकायको सहयोगमा रोक्न सफल भयौ ।’
सुरुवाती दिनमा त सुरक्षाकर्मीले सबैको रोल निभाउनु पर्यो । महामारीले कस्तो प्रभाव पार्छ, र कोरोना कस्तो किसिमको रोग हो हामिले राम्रोसंग बुझ्न र आकलन नै गर्न सक्ने स्थिती थिएन, सुरक्षा देखि क्वारेन्टाइन निर्माण र बाँकेको पहिलो केस देखिए पछि कन्ट्याक्ट् ट्रेसिङमा समेत हाम्रो टोलिले कार्य गर्यो, त्यसबेला सबै सुरक्षा निकाय, स्वास्थ्य सम्बद्ध निकाय, स्थानिय सरकार, नागरिक समाज, प्रशासन र स्थानियको ठूलो साथ मिल्यो जसले गर्दा प्रतिकुल परिस्थितिमा पनि हामिलाई कार्य गर्न सहज भयो ‑ खत्री बताउछन् ।

हाल बाँकेमा मात्रै नभएर देशका अन्य जिल्लाहरुमा समेत फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण देखिएको छ । दैनिक जसो बाँकेमा कोरोना पोजेटिभ केस देखिदा सुरक्षाकर्मिको संख्या पनि ठुलो रहेको छ ,जिल्ला प्रहरी कार्यालय बाँके , वडा प्रहरी कार्यालय नेपालगंज तथा इलाका प्रहरी कार्यालय कोहलपुर, सशस्त्र तथा नेपालि सेनामा समेत ठुलो संख्यामा सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिसकेको छ |
कोरोना भाइरस संक्रमणको जोखिममा फ्रन्ट लाइनमा रहने प्रहरी आफै कोरोना संक्रमित भैदिदा उनीहरुको मनोबल उच्च राख्दै महामारीको समयमा कार्य गर्नु आफैमा चुनौती रहेको खत्री बताउछन |
जनताको सुरक्षा, क्वारेन्टाइन तथा आइसोलेसन ब्यवस्थापन र सुरक्षा, कन्ट्याक्ट् ट्रेसिङ, कोरोना पोजेटिभ एरिया सिल, भिड नियन्त्रण र ब्यवस्थापन जस्ता कार्यमा आफुलाई निपुर्ण साबित गरेका प्रहरी निरिक्षक खत्रीको टोलिले नै बाँकेको पहिलो कोरोना संक्रमितको मृत्यु भए पछि शवको ब्यवस्थापन गरेको थियो ।











