सन्तोष अधिकारी: दाङका २ जना चार्टर एकाउन्टेन्ट र अरु २ जना युवा मिलेर व्यवसायीक तरकारी खेती सुरु गरेका छन् । देशमा शैक्षिक बेरोजगार बढेको देखेर एउटा बिषय पढेपनि अर्को ब्यवसाय गर्न सकिन्छ भन्ने उदाहरण समेत उनीहरु बनेका छन् ।
तुलसीपुर उपमहानगरपालिका १७ बनकट्टीमा ४ जना युवा मिलेर ३५ विगाह जग्गामा तरकारी खेती गरीरहेका छन् । सिए घनश्याम सापकोटा, सिए सन्तोष विष्ट, जमिन राना र कान्तुराम खनाल मिलेर ग्रिनकोर ग्रुप प्राली नामक संस्था स्थापनागरी नेपाल संस्कृत विश्वविद्यालयको जग्गा भाडामा लिएर तरकारी तथा केरा खेती सुरु गर्नुभएको हो ।
फर्ममा अहिले करेला, खुर्सानी, टमाटर र केरा, आलु, मुला र गोभी लगाउनुभएको छ । गतवर्ष लगाएको तरकारी सरकारले गरेको लकडाउनका कारण विक्रिगर्न नपाएपछि खेर गएर ५० लाख घाटा ब्यहोर्नु परेको संचालक संयोजक घनश्याम सापकोटाले जानकारी दिनुभयो ।
“अहिले थोरै भएपनि सहज परिस्थिति निर्माण भएकोले पुनः तरकारी लगाउन सुरु गरेका छौ, विक्रिगर्न पाईने हो की होईन भन्ने चिन्ता छ” संयोजक सापकोटाले भन्नुभयो ।
पहिलो वर्षको उत्पादन राम्रो भएको समयमा लकडाउनका कारण विक्रि गर्न नपाउदा घाटा भएपनि नआत्तिएको उहाँले बताउनुभयो । पोखरा, बुटवल, नारायणगढको बजारलाई हेरेर उत्पादन गरेकोले जिल्लाको बजारले खपत गर्न नसक्ने सापकोटाले बताउनुभयो ।
“कृषि प्रधान देशमा अहिले ७० प्रतिशत कृषि पेशामा अवद्ध रहेको नेपाल सरकारको तथ्याङ्क छ तर, खाद्यान्न लगाएतका सामाग्री आयात गर्दा करोडौ नेपाली रुपैया विदेशिएको देखेर हामीहरुले तरकारी खेती सुरु गरेका हौ” सापकोटाले भन्नुभयो ।
सवैले वेरोजगार छौ भन्ने तर यता ठुलो मात्रामा जमिन खाली गएको देखेर युवाले नै केही गर्नुपर्छ भन्ने सोचेर कृषिमा हात हालेको उहाँले बताउनुभयो । व्यवसायकि रुपमा कृषिपेशा गर्दा आम्दानी पनि हुने र रोजगारी पनि श्रृजना गर्न सकेको उहाँले दावी गनुभयो ।
धेरै जमिनमा तरकारी खेती सुरु गरेको भन्दै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत तरकारी पकेट जोनमा ५० प्रतिशत अनुदान अन्तर्गत १४ लाख रुपैया फर्मले पाएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै केराखेती विस्तार कार्यक्रम अन्तर्गत कृषि ज्ञानकेन्द्र दाङले ३ लाख उपलब्ध गराएको छ । ग्रिनकोर ग्रुप प्रालीमा अहिले सम्म एक करोड रुपैया बरावरको लगानी लागेको सापकोटाले जानकारी दिनुभयो ।
समाजमा सिए पढेको मान्छेले कृषि गरेको देख्दा कुरा गर्नेहरुको कमि नभएपनि आफुहरुले केही गरेर देखाउने उद्देश्य लिएको उहाँले बताउनुभयो । पहिले कुरा गर्नेहरु अहिले उत्पादन गरेको देखेर विस्तारै परिवर्तन हुन थालेको उहाँको भनाई छ ।
विश्वविद्यालयलसंग ३५ विगाह जग्गाको प्रति वर्ष साढे १२ लाख जग्गा भाडा तिर्नुपर्दछ । उक्त फर्ममा कृषिको तालीम लिएका नियमित ६ जना कर्मचारी छन् भने आवश्यक्ता अनुसार दैनिक रुपमा ७० जना सम्म स्थानीयलाई उक्त फर्मले रोजगारी दिईरहेको छ ।
तरकारी खेतीमा धेरै काम भएको समयमा गाँउकै महिलाहरुलाई कामदारको रुपमा प्रयोग गरिरहेको संयोजक सापकोटाका बताउनुहुन्छ । “यहाँ कामदारको समस्या छैन, समयले साथ दिने हो भने केही गरेर देखाउने आँट छ” उहाँले भन्नुभयो ।










