नेपालगन्ज : नेपाल-भारत सीमानाका जमुनाहमा कोरोनाको उच्च जाखिम देखिएको छ । मानिसहरुको अस्वभाविक भिडभाड र सामाजिक दुरीको समेत पूर्णपालना नहुँदा नाकामा कोरोना संक्रमणको जोखिम बढि देखिएको हो ।
भारतबाट आउने र जाने मानिसहरुको सहज व्यवस्थापन नहुँदा भाइरसको जोखिम बढेको हो । ठूलो संख्यामा नेपालबाट औषधि लिन भारतको रुपैडियादेखि लखनउसम्म मानिसहरु जाने गरेका छन् ।
यसैबेला भारतमा रोजगारीमा रहेका नेपालीहरु र नेपालमा आफन्त भएकाहरु पनि जमुनाह नाका भएर नेपाल भित्रिने गरेका छन् । ती सबै मानिसहरु नाकामा सहजै घुलमिल हुने गरेका छन् । जस्का कारण भाइरस संक्रमणको जोखिम उच्च देखिएको छ ।
दिनभरी घाममा उभिएर साँझ परेपछि मात्र नाका प्रवेश गर्न दिने गरेकाले नागरिकहरुले पनि अनावश्यक दुःख पाएका छन् । भीडभाड नियन्त्रण र व्यवस्थापनमा प्रहरीलाई पनि टाउको दुखाइ छ । एक स्थानीयले बताए ।
भारत अहिले कोरोनाबाट प्रभावित विश्वको दोस्रो देशमा पर्छ । भारतमा एक लाख बढीको कोरोना संक्रमणकै कारण मृत्यु भैसकेको छ ।
त्यहाँबाट आउने नागरिकहरुको स्वास्थ्य जांच गर्ने , क्वारेन्टिनमा राख्ने जस्ता सुरक्षाका मापदण्ड नहुदा कोरोना कहरमा पिल्सिएको बाँके अझ उच्च जोखिममा पर्ने निश्चित रहेको जानकारहरु बताउछन् ।
एकातिर सरकारले सिमानाका खोल्ने कुरालाई पछि सार्दै गैरहेको समयमा सिमानाकाको दृश्य भने खुल्ला भन्दा कुनै कम नरहेको जमुनाह नाकाका स्थानिय बताउछन् ।











