नेपालगन्ज : भेरी अस्पतालमा Operating Microscope को जडान सँगै माइक्रोस्कोपिक न्यूरोसर्जरी सेवा सुरु भएको छ ।
दिमाग तथा मेरुदण्ड अत्यन्त संवेदनशील अंगहरु भएको हुँदा ससाना नशा तथा तन्तुहरुलाई अत्यन्त जतनका साथ चलाउनु पर्ने हुन्छ । नाङ्गो आँखाले सहजै देख्न नसकिने यस्ता नशाहरुलाई अपरेटिङ माइक्रोस्कोपको सहायताले Magnify गरेर हेरिन्छ र सर्जनले आफुले चाहेको अनुसार सुरक्षित तरिकाले अपरेसन गर्न सक्छन् ।
अस्पतालमा डा हरी पौडेल (McH Neurosurgery) पोस्टिङ भएपश्चात न्यूरोसर्जरी जस्तो जटिल प्रकृतिको उपचार सहज भएको छ ।
अस्पतालले अघिल्लो आ.व.मा रु १४१०१७६९.९१ (मू.अ. कर बाहेक) मा खरिद गरेको Carl Zeiss, Germany को TIVATO 700 मोडेलको अपरेटिङ माइक्रोस्कोप जडान भएपछि हालसम्म दुई जना बिरामीको शल्यक्रिया गरिसकिएको छ ।
जसमा ६० बर्षिया महिलाको Meningioma र ९ वर्षिया बालिकाको Spinal Intradural Epidermoid Tumor रहेका छन् ।
दिमागका नशा फुलेर फुटेकोमा बाँध्ने (Aneurysm Clipping), रगतका नशाहरुको गुच्छाको गडबडी (Arteriovenous Malformations), र दिमागको क्यान्सरको शल्यक्रिया जस्ता उपचारमा यस प्रविधिको प्रयोग हुने हुँदा यस क्षेत्रका धेरै बिरामीहरु लाभान्वित हुन सक्ने अपेक्षा राख्न सकिन्छ ।












