टिप्पणी
रामु ओली : माथिको तस्वीर हेरे पछि लाग्दैन कि नेपालगन्जमा कोरोना संक्रमण छ । नेपालगन्जको बजार भरी भिड भन्दा अरु केही देखिदैन । चाडपर्वको समय छ भिड भाड हुनु स्वभाविक नै हो तर यो समय हामी पर्व भन्दा पनि कोरोना महामारीको समयमा जुझी रहेका छौ , सायद हामिले यो कुरा भुल्छौ ।

लकडाउन समाधान होईन तर यी भन्दै गर्दा लापरबाहीले बाकेको मृत्युदर र संक्रमण दर कहाँ देखि कहाँ सम्म लिएर गयो त्यो हाम्रै आँखा अगाडि रहेको दृश्य हो । यि सबै हुनुमा कसको कमजोरी ? को जिम्मेवार ? त्यसको लेखाजोखा हुनै पर्ने छ । कारण अझै कमजोरी बढ्नु भनेको स्थिति कल्पना गर्न नसक्ने हुने छ ।
बाँके भनौ वा नेपालगन्जले बिराटनगर र बिरगंजबाट केही सिक्नु पर्ने थियो । केही हप्ता अगाडी सम्म बिरगंज र बिराटनगरको अवस्था कस्तो थियो र अहिले त्यहाँको अवस्था कस्तो छ ? त्यहाका प्रशासन मात्रै होइनन् सर्वसाधारणले कोरोना नियन्त्रण गर्न आआफ्नो भुमिका खेले, आउने दिनमा त्यहाँको अवस्था कस्तो होला त्यो समयले देखाउला तर नेपालगन्जको अवस्था भने भयावह भैसकेको छ भन्दा कुनै आपत्ति नहोला किनकी बाँकेमा दैनिक पचास देखि सयको बिचमा कोरोना केस देखा पर्दै गएको छ भने दैनिक मृत्यु हुनेको सिलसिला तोडिनुको साटो दैनिल मृत्यु हुनेको संख्यामा वृद्धि हुँदै गएको छ ।

अनि , अनि बजारको अवस्था अति सामान्य बनी सकेको छ । नत कुनै स्थानमा सामाजिक दुरि, भौतिक दुरि कायम गरिएको छ, नत स्वास्थ्य मापदण्ड पूरा गरेका छन् । ब्यापारी, सर्वसाधारण, कार्यालयका कर्मचारी र जनप्रतिनिधि समेतले स्वास्थ्य मापदण्डको खुलेआम रुपमा धज्जी उडाइरहेका छन् । चिया पसल देखि रक्सी पसल सम्म, कार्यालय देखी कार्यालयको गेट, ठुला रेस्टुरेन्ट देखि फुटफाटको पसलसम्म, किराना पसल देखि कपडा पसल सम्म जताततै भिड र अव्यवस्थित घुमफिर र असावधानी रुपमा हिडेका , हिड्दै गरेका, गफिएका, खाएका वा अनायसै टहलिएका दृश्य सामान्य जस्तै भैसकेको छ।
अनि त्यसैको परिमाण नेपालगन्जमा दैनिक कोरोना संक्रमण र मृत्युको दर बढी रहेको छ ।

साधारण रुपमा हामिले ब्यक्तिगत सावधानी मात्रै अपनाउन सक्ने हो भने पनि हामिले कोरोना संक्रमणको दर र मृत्युदरलाई रोक्न सकिन्छ भन्ने बिश्वका कतिपय देशले प्रमाणित गरिसकेका छन् ।
तर बाँकेको परिप्रेक्षमा हेर्ने हो भने प्रशासनको उपस्तिथि शून्य जस्तै देखिन्छ भने सर्वसाधारणको लापरबाही त्यो भन्दा भयानक देखिन्छ । कोरोनालाई खेलाचिको रुपमा हेरिने प्रवृत्ति र आफुलाई नपर्दा सम्म मजाकको रुपमा हेरिने सर्वसाधारणको बानिले कोरोनालाई मल्टिप्लाइ हुन मद्द गरिरहेको छ ।
बाँकेको अहिलेको अवस्थालाई रोक्नु पर्ने हामीमाझ टड्कारो रुपमा खड्किएको छ , यसको समाधानको लागि अहिलेको अवस्थामा कडाइका साथ लकडाउन आव्हान गर्नु बाहेकको विकल्प छैन । किनकी जनता आफै जागरुक हुने र स्वास्थ्य मापदण्डको पालना गर्ने कल्पना कोरो मात्रै हुन् भने अस्पतालको उचित ब्यवस्थापन र रेखदेखको ब्यवस्थापन गर्नु प्रशासनको प्रमुख काम भएको छ । स्थानिय तह संगको सहकार्य र सहयोगी हातहरु संग सहकार्य गरि बिरामिले उचित रेखदेख संगै उपचार प्राप्त गर्ने वातावरणको सृजना हुनु अत्यावश्यक छ होइन भने उचित उपचार नै नपाएर मृतकको संख्या वृद्धि हुने स्थिति नआउला भन्न सकिँदैन । तपाईं हामी सबै मिले मात्रै कोरोना संग लड्न र जित हासिल गर्न सक्छौ अन्यथा मानव अस्तित्व नै संकटमा पार्ने कोरोनाले जीवन संगै अर्थतन्त्रलाई तहसनहस पार्ने छ ।












