नेपालगन्ज ः बाँकेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आफ्नो बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।
विहिबार एक कार्यक्रमको आयोजना गर्दै पशु सेवा विज्ञ केन्द्रले विभिन्न कार्यक्रममा छुट्याइएको बजेट सहित सार्वजनिक गरेको हो ।
विज्ञ केन्द्रका प्रमुख तथा बरिष्ठ मत्स्य विकास अधिकृत कमला अधिकारीले प्रस्तुत गरेकोमा स्मार्ट कृषि गाउँ जिल्लाको सबैभन्दा ठुलो कार्यक्रम रहेको थियो ।
गत वर्षका स्मार्ट कृषि गाउँ कार्यक्रमहरुलाई निरन्तरता दिदै केहि थप स्मार्ट गाउँ स्थापना गरिने भएको हो । विहिबार गरिएको सार्वजनिक कार्यक्रममा मिसन कार्यक्रमलाई पनि विषेश जोड दिइएको ज्ञान केन्द्रले जनाएको छ ।
किसानको उत्पादनलाई सहजै बजार दिन सडक मार्ग लक्षित जस्ता कार्यक्रम पनि रहेको विज्ञ केन्द्रका प्रमुख अधिकारीले बताइन । दुध उत्पादनलाई वृद्धि गर्न गाईको व्यवसायिक कृषि उत्पादन केन्द्र स्थापना तथा विकास गरिने भएको हो ।
बाख्रा उत्पादनको वृद्धि गर्न मिसन कार्यक्रम तथा श्रोत केन्द्र स्थापना गरिने विज्ञ केन्द्रले जनाएको छ । पशुपक्षिमा लाग्ने रोगहरुको उपचार तथा नियन्त्रणका लागी पनि विज्ञ केन्द्रले विभिन्न कार्यक्रमहरु बनाएको छ ।
जिल्लामा हरित स्वयम सेवक नमुना फाम स्थापनाका लागी पनि सहयोग गर्ने उदेश्यले काम गरिने विज्ञ केन्द्रका प्रमुख अधिकारीले बताइन । बायो ग्यास तथा भकारो सुधार कार्यक्रम अन्तरगत किसानलाई सेवा प्रदान गरिने खालका कार्यक्रम पनि ल्याइएको प्रमुख अधिकारीले बताएकी छन ।
चक्ला बन्दी सहितको नमुना फार्म स्थापना, प्रतिफलमा आधारित प्रोत्साहन अनुदान, घाँसको श्रोत केन्द्र स्थापना, पोषण सुधारका लागि ग्रामिण कुखुरा पालन कार्यक्रम, आयमुलक कृषि वन कार्यक्रम पनि प्रमुख प्राथमिकतामा राखेको भेटेरिनरी अस्पताल बाँकेले जनाएको छ ।
ब्यवसायिक मत्स्य फार्ममा मेशिनरी औजार प्रदर्शन तथा उपयुक्तताको सम्भाव्यता अध्ययन, आपतकालिन सेवा, मत्स्य बिज ह्राचरी निर्माण, पशुपंक्षी तथा मत्स्य नियमन कार्यक्रम, खोरेत उन्मुलन अभियान प्रारम्भ कार्यक्रम, साईलेज उद्योग स्थापनाको लागि सहयोग, भ्याक्सीनेटर परिचालन पनि यहि आर्थिक वर्ष भित्रमा गरिने भएको सार्वजनिक कार्यक्रममा जानकारी दिइएको छ ।










