नेपालगन्ज : चाडपर्वको बेला बाँके प्रहरीले विशेष सुरक्षा योजना अन्तर्गत घटना भएको ३० सेकेन्डमा घटना स्थल पुग्ने गरी क्वीक रेस्पोन्स टीम ‘क्यूआरटी’ को परिचालन गरेको छ ।

बाँकेको दुई स्थानमा रहने ‘क्वीक रेस्पोन्स टीम नेपालगन्जको धम्बोझी चोक र कोहलपुरको चौराहामा बेस बनाएर क्वीक रेस्पोन्स टीम परिचालन गरिने बाँके प्रमुख एसपी ओम बहादुर रानाले बताएका छन् ।

घटनाको सुचना प्राप्त गरेको ३० सेकेन्ड मै मूभ हुने गरी धम्बोझी चोकमा १२ वटा मोटरसाईकल र एउटा भ्यान स्टेण्डवाई पोजिसनमा राखिएको छ, भने जिल्लाभरीमा ३६ वटा मोटरसाईकल यसरी स्टेण्डवाई राखिएको छ ।

‘घटना भएको थाहा पाएको ३० सेकेण्डमा मोटरसाइकल मूभ हुन्छ । प्रहरी भ्यान एक मिनेटमा मूभ हुन्छ,’ एसपी रानाले भन्नुभयो–, ‘धम्बोझीमा एउटा अर्को भ्यान पीडितको उद्दार गर्नका लागि राखिएको छ ।’
बाँके प्रहरीले चाडपर्व लक्षित विभिन्न योजनाहरु सार्वजनिक गरिसकेको छ यस अघि नै ‘डग स्निपिङ’ सुरु गरेको थियो भने, हेल्प डेस्क समेत स्थापना गरि सकेको छ ।













