प्राध्यापक भण्डारीको सम्झनामा बिपि चोकमा श्रद्धाञ्जली कार्यक्रम

नेपालगन्ज : महेन्द्र बहुमुखी क्याम्पसका सह– प्राध्यापक स्वर्गीय डोल बहादुर भण्डारीको सम्झनामा आज नेपालगन्जमा विद्यार्थीहरुले श्रद्धाञ्जली कार्यक्रम गरेका छन् ।

गत शुक्रबार कोरोना संक्रमणका कारण निधन भएका प्राध्यापक भण्डारीको सम्मान र सम्झनामा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका बिबिएका विद्यार्थीहरुले नेपालगन्जको बिपि चोकमा एक मिनेट मौन धारण गरेर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

महेन्द्र बहुमुखी क्याम्पस बिबिए सातौ सेमेस्टरमा अध्यनरत विद्यार्थी जीवन सिंह ठकुरीले आदरणीय गुरुको मृत्युले सम्पुर्ण विद्यार्थीलाई अत्यन्त दुखित बनाएको र एउटा असल र योग्य प्राध्यापक गुमाएको बताएका छन् ।

ठकुरीले प्राध्यापक भण्डारी प्रति श्रद्धाञ्जली दिदै उहाँ यो ससारमा नरहे पनि उहाको योगदान अभिभावकत्व आत्मीयता साथ र सम्झना सधैभर जिवन्त रहिरहने बताएका छन् ।

उपमहानगरपालिका–१ धम्बोझीका ५० वर्षीय शिक्षण पेषामा आवद्ध प्रोफेसर डोल बहादुर भण्डारीको शुक्रबार राति १० वजे मृत्यु भएको थियो । महेन्द्र बहुमुखी क्याम्पसका सह– प्राध्यापक समेत रहेका भण्डारीको असोज ६ गते गरीएको पीसीआर जाँचमा उनलाइ कोरोना पोजिटिभ देखिएको थियो । उनलाई असोज २७ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । भेरी अस्पतालमा उपचार गराइरहेका उनको श्वासप्रश्वासमा समस्या थियो ।


प्रतिक्रिया