नेपालगन्ज : – विश्व रेडियोग्राफि दिवस तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस आज बाँकेमा पनि मनाइएको छ।
सन १८९५ मा प्रथम पटक विल्हेल्म रोन्टजनले नोभेम्बर ८ आजकै दिन एक्सरे पत्ता लगाएका थिए। चिकित्सा बिज्ञानमा आज नोभेम्बर ८ का दिन औपचारिक रुपमा अन्तर्राष्ट्रिय रिडियोलोजी दिवस मनाउने गरिन्छ।
नेपालगन्ज मेडिकल कलेज, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा र सेन्ट्रल सिटि पोलिक्लिनिक नेपालगन्जका रेडियोग्राफरहरुले अनौपचारिक रुपमै भए पनि नेपालगन्जमा विश्व रेडियोग्राफी दिवस मनाएका छन् ।

नेपालगन्जमा मनाइएको अनौपचारिक कार्यक्रममा नेपाल रेडियोलोजी सोसाइटीका केन्द्रिय सचिव मदनराज भट्टले कोभिड १९ को महामारीको समयमा निजि क्षेत्रबाट संचालित केही अस्पतालहरुका रेडियोग्राफरहरुका समस्याका बारेमा बताएका थिए ।
कार्यक्रममा विकिरणमा काम गर्ने रेडियोग्राफरको शरिरमा केही प्राइभेट अस्पतालहरुले खेलबाड गरिरहेको र कोरोना कहरमा समेत पिपिआर समेत उपलब्ध नगराएको सहभागी रेडियोग्राफरहरुले गुनासो राखेका थिए ।
बाँकेमा अनुमानित २०० बढी रेडियोग्राफर रहेको अनुमान गरिएको छ ।












