नेपालगन्ज : दैनिक जसो कोरोना संक्रमण बढेको बेला कोरोना बिमाको प्राप्त हुने रकमको बारे उतिकै चर्चा चुलिदै गएको छ ।
नेपालगन्ज निवासी संजय राय कोरोना संक्रमण भएको दुई महिना बढी भैसक्यो, कोरोना संक्रमण पछि आइसोलेसन बसाई गरेर उनी निस्किए तर उनले अझै कोरोना बिमा बापतको रकम भने प्राप्त गरेका छैनन् ।
कोरोना महामारी सुरु भए संगै बिमा गराएका रायले कोरोना संक्रमित भए पछि भोग्नु परेको मानसिक तनाव र दुख उनैले बुझेका छन्, त्यसको भरपाई कोरोना बिमा बापतको रकमले पूरा गर्न सक्ने कुरा भएन तर दुई पक्षिय सम्झौता गरेर बिमाको प्रीमियम असुलेको बिमा कम्पनीहरुले बिमा बापतको रकम नदिदा उनलाई कोरोना बिमा प्रती नै बिश्वास घट्दै गएको बताउछन् । यतिका दिन भैसक्यो कागजात पेश गरेको तर पनि पैसा आउने हो होइन कुनै अत्तोपत्तो छैन ।
राय जस्तै नेपालगन्ज १२ निवासी गौमाया बुढा र उनकी छोरी करिष्मा लामा कोरोना संक्रमित बने, कोरोना संक्रमण भएर आइसोलेसनको बसाई सकेको नै करिब दुई महिना बितिसक्यो तर पनि अहिले सम्म कोरोना बिमा बापतको रकम प्राप्त गरेका छैनन् । यी नामहरु प्रतिनिधि मात्रै हुन् ।
एक बैंकका कर्मचारीले कोरोना पुष्टि भएको करिब तीन महिना बितिसक्दा पनि पैसा पाएका छैनन् । नाम नखुलाउने सर्तमा उनले भने – ज्यान भन्दा पैसा ठुलो त हैन, ज्यान बच्यो त्यसैमा खुसी छु म तर बिमा गरिसके पछि त्यो बापतको रकम कम्पनीले तिर्नु पर्ने हो , तर पैसा सजिलै आउँछ भन्नेमा मलाई चाहिँ त्यति सारो बिश्वास त छैन , उनले भने ।

सरकारले कोरोना बिमाको बारेमा बारम्बार परिवर्तन गरेको नियम र कम्पनीले पैसा भुक्तानी गर्न गरेको आनाकानीले गर्दा बिमा गर्नेहरुले पैसा सजिलै पाउनेमा भने अहिले बिश्वास गर्न छोडेका छन् । कतिले भने सम्बन्ध र पावरको आडमा छिटै पैसा भुक्तानी प्राप्त गरेको घटना समेत सुनाउने गरेको पाइन्छ । तर उता एक कम्पनीको नेपालगन्ज शाखामा काम गर्ने शाखा प्रमुख लेभलका कर्मचारीका अनुसार अहिले कोरोना बिमाको रकम भुक्तानी हुन लगभग तीन महिना जति लाग्ने बताएका छन् ।
पहिले सुरुवाती दिनमा हामिले तयार गरेको फाइल र अनुसार कम्पनीको हेड अफिसले रकम भुक्तानी गर्थ्यो , केही केसहरुमा हामिले हप्ता दिनमै रकम पनि भुक्तानी दियौ तर अहिले त्यस्तो छैन । हामिले यता सबै कागजी प्रक्रिया पूरा गर्न केही समय लाग्छ त्यसपछि त्यो ओरिजिनल कपि नै सम्बन्धित बिमा कम्पनीको हेड अफिस पुराउनु पर्छ र त्यो फाइल फेरि सिद्दार्थमा पुग्नु पर्छ त्यसैले यसरी प्रक्रियामै लामो समय लाग्ने हुनाले छिट्टै कोरोना बिमाको पैसा भुक्तानी हुन्छ भन्नू सत्य नभएको बताउछन।
उता सरकार र बिमा समितिले कार्तिक १८ गते गरेको निर्णय अनुसार पिसिआर परिक्षण प्रमाणित प्रतिबेदन भएको अवस्थामा बिमालेख बमोजिम प्रदान गरिने बिमांक रकम भुक्तानी दाबी गरेको सबै बिमितहरुलाई एक हप्ता भित्र भुक्तानीको ब्यवस्था गर्न निर्देशन दिए पनि सो कार्यान्वयन हुन सकेको छैन ।












