कोरोना महामारीका कारण राजमार्ग आसपासमा बसेर कृषि उपज बिक्रि गरी दैनिकी चलाउने मानिसहरुको व्यापार अहिले संकटमा परेको छ । खासगरी, पृथ्वी राजमार्गको छेउछाउमा बसी मौसम अनुसारको फलफुल र तरकारी बिक्रि गर्ने सडक ब्यापारीहरुको व्यापार अहिले ठप्प जस्तै भएको हो ।
कोरोना महामारीका कारण लामो समयपछि सार्वजनिक यातयातका साधनहरु सुचारु भएपनि राजमार्ग छेउ छाउमा केरा बेच्ने, पोलेको मकै बिक्रि गर्नेहरु र तरकारीको व्यापार गर्नेहरुको पेशा भने आजकाल संकटमा परेको छ ।
पृथ्वीराजमार्ग भएर आवत जावत गर्ने मानिसहरुले स्वास्थ्य सुरक्षाका कारण जहाँ पायो त्यहीँ सवारी रोक्न छाडेपछि सडक व्यापारीहरुलाई थप समस्या परेको हो । केरा बिक्रि गरी आफ्नो दैनिकी चलाउदै आएका साना सडक व्यापारीहरु पहिले पहिलेको तुलनामा कोरोनाका कारण ८० प्रतिशत घटेको बताउँछन् ।
दैनिक ७/८ हजारसम्म केरा बिक्रिबाट मात्र आम्दानी गर्ने राजमार्ग छोउछाउका व्यापारीहरु अहिले २/३ हजारमा नै चित्त बुझाउँछन । व्यापार कम हुन थालेपछि कतिपय साना व्यापारीहरुले त पेशा नै छाडेका छन । धादिङको राजमार्ग आसपासमा बिक्रि गर्ने धेरैजसो कृषिजन्य उपजहरु स्थानीय किसानहरुले नै उत्पादन गरेका हुन्छन ।









