तिहार र छठपछि कडा निषेधाज्ञा जारी गर्न उपत्यका मेयर फोरमको आग्रह

उपत्यका मेयर फोरमले चाडपर्व (तिहार र छठ)पछि कडा निषेधाज्ञा जारी गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई आग्रह गरेको छ । बुधबार सीसीएमसीका पदाधिकारीहरुसँगको बैठकमा मेयर फोरमका पदाधिकारीहरुले यस्तो आग्रह गरेका हुन् ।

काठमाडौं उपत्यकामा बढ्दो संक्रमणको दर र यसलाई नियन्त्रणका लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको मेयर फोरमका सचिव मदनसुन्दर श्रेष्ठले बताए । तिहार र छठलगत्तै उपत्यकामा बढिरहेको संक्रमण दर नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा गम्भीर छलफल भएको उनले बताए । 

उपत्यकामा बढिरहेको संक्रमणलाई नियन्त्रण गर्न कडा निषेधाज्ञा आवश्यकता भएको उल्लेख गर्दै उनले सीसीएमसीका पदाधिकारीले अर्को बैठकमा कस्तो ‘मोडालिटी’मा जाने भन्ने छलफल गरी प्रस्ताव गर्ने बताए । ‘अहिले नै निर्णय त भएको छैन, तर कोरोना संक्रमण चक्र तोड्न र दोस्रो तरंग आउन नदिन केही समयका लागि कडा खालको लकडाउन नै गरी टेस्टको दायरा अझै फराकिलो बनाउने जस्ता विषयमा पनि छलफल भएको छ ।’ त्यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर अघि बढ्ने विषयमा प्रभावकारी छलफल भएको उनले बताए । 

सीसीएमसीका पदाधिकारीहरुसँगको छलफलमा कोभिडबाट उत्पन्न समस्या समाधानका विषयमा पनि छलफल भएको सचिव श्रेष्ठले बताए । बैठकमा उपप्रधानमन्त्री पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकालले उपत्यकाका मेयरहरूलाई समन्वय गरेर अघि बढ्न आग्रह गरेका छन् ।

पछिल्लो समय मुलुकभरिको संक्रमण तथ्यांकमध्ये ५३ प्रतिशत उपत्यकामै रहेको भन्दै कोरोना रोकथाम र नियन्त्रणका लागि उपत्यकामा प्रभावकारी कदम चाल्नुपर्ने धारणा सिसिएमसीका तर्फबाट उठेको थियो । आपूर्ति व्यवस्था सहज बनाउनुपर्ने, कोरोनाको दोस्रो तरंग आउन नदिन प्रभावकारी प्रयास गर्नुपर्ने, समुदायलाई परिचालन गर्नुपर्ने, उपत्यकामा कोरोनाको प्रभाव कम गर्न उपत्यका छिर्ने विभिन्न नाकामा हेल्थ डेक्स राख्नुपर्नेजस्ता विषय पनि बैठकमा उठेको थियो ।

 

प्रतिक्रिया