नेपालगञ्ज : दाङका ७५ वर्षीय कोरोना संक्रमित चन्द्रबहादुर केसीको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी केसीको मंगलबार बिहान १०ः२० बजे मृत्यु भएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार, कात्तिक २६ गते स्वास्थ्यमा समस्या आएपछि नेपालगञ्ज ल्याइएलाई २७ गते कोरोना पुष्टि भएको थियो।
केसीको केही समयअघि मुटुको भल्भसम्बन्धी अप्रेसन गरिएको थियो । बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा ३९ जनाको मृत्यु भइसकेको छ ।
बाँकेमा कोरोनाका ४७ जना सिकिस्त बिरामी रहेका छन् । उनीहरुमध्ये ३३ जनाको भेरी अस्पताल र १४ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । मध्यम खालका ५४ जना र सामान्य ६ जना बिरामी रहेका जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश बाबु श्रेष्ठले जानकारी दिए ।
तीन हजार ६ सय १ जना कोरोना संक्रमित हुँदा बाँके निवासी ३६ जनाको मृत्यु भैसकेको छ ।











