सकियो तयारी : नेपालगन्ज म्याराथनको छैटौं संस्करण भोली

नेपालगन्ज :

नेपालगन्ज म्याराथनको छैटौं संस्करण आयोजना हुने भएको छ । कोभिड १९ को महामारीपछि सात महिनादेखि ठप्पजस्तै रहेको खेलकुद् गतिविधि छैटौं धारा नेपालगन्ज म्याराथनसंगै सुचारु हुने भएको हो ।

नेपाल एथलेटिक्स संघबाट मान्यताप्राप्त नेपालगञ्ज म्याराथन यसपटक नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पिक छनोटका रुपमा समेत लिएको छ । शनिबार नेपालगन्जमा हुने म्याराथनबाट सन् २०२१ मा जापानको टोकियोमा हुने ओलम्पिकका लागि नेपाली प्रतिस्प्रर्धीको छनौट हुनेछ ।

ओलम्पिक छनौटसमेत हुने भएकाले नेपालगञ्ज म्याराथनमा यसपटक नेपालका पहिलो पङ्तीका धावकहरु सहभागी हुने आयोजक क्रियटिभ ह्याण्डसले जनाएको छ । पुरुष म्याराथनमा यसपटक १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता किरणसिंह बोगटी, गत वर्षका विजेता नवराज साउद, सागकै स्वर्ण पदक विजेता गोपी पार्कीलगायतका २० भन्दा बढी धावकले प्रतिस्पर्धा गर्दैछन् ।

त्यस्तै महिला हाफ म्याराथनमा पनि उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ । नेपालगञ्जको विपी चोकदेखि सुरु भएर कोहलपुर चौराहा अगाडि पुगेर पुनः विपीचोकमा पुगेर म्याराथन टुंगिनेछ । विपीचोकदेखि दौड सुरु भएपछि सडकको एउटा रुट खाली गराउने र ठाउँ ठाउँमा प्रहरी परिचालन गरिने सुरक्षा निकायले जनाएको छ ।

यसपटक म्याराथनका विजेताको पुरस्कार राशी बढाएर ७५ हजार रुपैयाँ पुर्याइएको छ । गत बर्ष पुरस्कार राशी ५५ हजार रुपैंयाँ थियो । त्यस्तै, दोस्रो धावकले ३० हजार, तेस्रोले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोले १०, पाँचौंले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ पाउनेछन् । महिला हाफ म्याराथन विजेताले ३० हजार, दोस्राले १५ हजार, तेस्रोले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै चौथोलाई ७, पाँचौंलाई ६ र छैटौं हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र पाँचौमा सेनाका नवराज साउद विजेता भएका थिए । त्यस्तै, महिला हाफ म्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी थिइन् ।

कोरानाकै कारण ठूलो जमघट गर्न उपयुक्त नभएको र स्वास्थ्य सतर्कता अपनाउनुपर्ने भएकाले यसपटक विगतको भन्दा म्याराथनमा समावेश इभेन्ट भने घटाइएको छ । पुरुष खुलातर्फ म्याराथन, महिलाको हाफ म्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्र समावेश गरिएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले बताए ।

 

प्रतिक्रिया