५ रोपनी जमिनमा २० वर्षदेखी कृषि उत्पादनमा तिमल्सिनाको मेहेनत

नुवाकोट : बेलकोटगढी–२ खनियानखर्कका कृषक कृष्णप्रसाद तिमल्सिना २० वर्षदेखी आफ्नो गाउँठाउँमा एक नमूना कृषकका रूपमा स्थापित रहदै आएका छन् । करिब ५ रोपनी जमिनमा तिमल्सिनाले विभिन्न प्रकारका फलफूल तरकारी तथा पशुपालन गरेका छन् ।

कृषि र पशुपालनमा सक्रिय तिमल्सिनाले वार्षिक ५ देखि ६ लाखसम्म आम्दानी गरिरहेका छन् । उनको बगैंचामा सुन्तला, अम्बा, कागती, निबुवा, केरा, लिची, लप्सी लटरम्मै फलेका छन् । मौसम अनुसारको तरकारी बन्दकोपी, काउली, गोलभेडा, सीमी, केराउ, हरियो खुर्सानी, बकुल्ला, साग, लसुन, प्याज, आलुलगायत पनि उत्पादन भईरहेको छ ।

‘यहाँ उत्पादन भएका तरकारी तथा फलफूल काठमाडौको कालिमाटी तरकारी तथा फलफूल बजारबाट बिक्रीवितरण हुन्छ’, कृषक तिमल्सिनाले भने । त्यतिमात्रै होईन तिमल्सिनाले ‘तिमल्सिना गाई फार्म’ सञ्चालन गरिरहेका छन् । उनको आफ्नै दुग्ध उत्पादन केन्द्र (डेरी) पनि रहेको छ । गाई फार्ममा अहिले चार ओटा गाई तथा बाच्छा बाच्छी छन् ।

आफ्नो फार्ममा उत्पादन भएको र गाउँघरबाट संकलन गरिएको दैनिक तीन क्यान बढी दुग्धबाट पनिर, दही, दूध तथा दुग्धजन्य परिकारहरू उत्पादन गर्दै आएको कृषक तिमल्सिना बताउँछन् । उनले आफ्नै घरमा बाख्रा पालन र गाई पालनलाई पनि साथसाथै अगाडि बढाईरहेका छन् । ‘बर्षिनै १५ देखि २० ओटासम्म खसीबोका बिक्रि गर्छुु,’ तिमल्सिनाले भने-‘मेहनत अनुसारको आम्दानी भईरहेको छ ।’ आफूले गरेका कृषि पेशाबाट घरपरिवार चलाउन समस्या नभएको उनको भनाई छ ।

कोरोनाको कहरबीच पनि तिमल्सिनाको जोस जाँगर हराएको छैन । उनको दैनिकी तरकारी उत्पादन, मलजल तथा गोडमेलसँगै बिक्री वितरणका लागि बजार धाउनु बनेको छ । उनका अनुसार बजारमा अघिल्लो वर्ष झै यस वर्ष तरकारी तथा फलफूलहरू माग कम छ ।

‘उत्पादन भएका कत्ति तरकारी र फलफूल फ्याँनु परेको छ’, तिमल्सिनाले भने-‘स्थानीय सरकारले बजार व्यवस्थापनमा सहजिकरण गरे यसरी दुःख गरेर उब्जनी गरेको तरकारी, फलफूल फाल्नु पर्दैनथ्यो ।’ र यसैगरी उनले आगामी दिनमा स्थानीय सरकारले केही आर्थिक तथा बिक्रीवितरणका लागि सहज बाताबरण बनाईदिए आगामी दिनमा थप तरकारी फलफूल तथा खसी बोका उत्पादन गर्न सक्ने उहाँको ठहर छ ।

प्रतिक्रिया