टिप्पणी
रामु ओली
नेपालगंज शनिबार रात्याम्मै देखियो, नेपालगंजका युवाहरुको हातमा नेपाली झण्डा थियो भने नेपालगंजको प्रदर्शनमा राजसंस्था पुनर्स्थापनाको नारा बुलन्द थियो । राजनैतिक दलले गरेका कार्य र सरकारले जनतालाई दिलाउन नसकेको बिश्वासको प्रतिफलको रुपमा चित्रीत नेपालगंजको आजको दृश्य नौलो भने होइन ।
इतिहासकै शक्तिशाली सरकारले के गर्यो ? र त्यसको बिकल्पमा अर्को कुनै राजनैतिक दल र त्यसले नेतृत्व गरेको सरकारको भबिष्य पनि नदेखेका जनताले राजाकै आगमन नै किन इच्छा ब्यक्त गरे त्यति ठुलो जमातले देशका विभिन्न शहरमा गरेको र्र्याली र प्रदर्शन सरकारको लागी मात्रै होइन नेपालका सबै राजनैतिक दलका लागि झट्का पक्कै हो ।
समग्रमा शनिबारको प्रदर्शनको केन्द्रमा नेपालगन्जका मेयर धवला शमसेर राणा नै रहेका थिए । मेयर राणाले १० हजार युवा जुट्न सके त्रिभुवन चोक र साबिकको बिरेन्द्र चोकमा रहेको बिरेन्द्रको शालिक पुनः स्थापना गर्ने जिकिर गरे । मेयर राणाले उक्त कुरा भन्दै गर्दा युवाहरुको जमातले तालि दिन कुनै कन्जुस्याइँ गरेनन्।
तर मेयर राणाले बोकेको कुरालाई नै लिएर नेपालगंजमा टीकाटिप्पणी सुरु भएको छ । त्रिभुवन चोकमा रहेको राजा त्रिभुवनको शालिकको अशं हटाएर इतिहास मास्ने कार्यमा अग्रसर बनेका राणाले बिरेन्द्र चोकमा बिरेन्द्रको शालिक र त्रिभुवन चोकमा त्रिभुवनको शालिक राख्छु र राख्नु पर्छ भन्दै भाषण गरिरहदा युवाहरुले जिब्रो टोक्नु स्वाभाविकै थियो ।
आफै नगरको मेयर, आफ्नै बजेट, आफ्नै पार्टीको वडा अध्यक्ष अनि समग्र नगरको चाहना पनि त्रिभुवन चोकलाई त्रिभुवन चोक नै राख्नु पर्ने र त्रिभुवनकै शालिक स्थापना गर्नु पर्ने चर्को माग हुदा सम्म पनि इतिहास नै मास्ने गरि त्रिभुवनको शालिकको अंशमा डोजर चलाएका मेयर राणा नै हुन् । अझै पनि सामाजिक संजालमा त्यो बेलाको डोजरको तस्बिर र त्यसबखत भएका झडप भन्न लायक भिडियो अनि वडा अध्यक्षको त्यो छाडा बोलि नेपालगंजबासीको सामाजिक संजालको भित्तामा र मानसपटलमा पक्कै ताजा नै छ ।
यी र यस्ता कार्य गरेका मेयर राणाले शनिबार त्यसरी पुनः राजाको शालिक स्थापना गर्छु भन्दा कतिले बिश्वास गरे होलान् ? अनि कसरि बिश्वास गरे होलान् ?
एकजना राप्रपाका केन्द्रीय सदस्यले केहि दिन आगाडी चियागफकै क्रममा भनेका थिए पार्टीका नेता र उनको चरित्रकै कारण देशमा राजा फर्कने सम्भावना कम हुदै गएको छ । आज मेयर राणाको उद्घोस पछी लाग्यो साच्चिकै उनले सहि भनेका थिए ।
जनताले रिजल्ट खोज्छन, जनताले दुइ तिहाइ सरकारको बिकल्पमा राजसंस्था आज किन खोजेको छ ? किनकि जनताले सरकारको काम र बोलि बिचको अन्तर थाहा पाई सकेका छन् अनि मेयर राणाले त्यहि स्मार्ट युवाहरुको बिचमा बोली र काम बिचको अन्तर देखाए ।
बिरेन्द्र चोकमा स्थापना हुन नसकेको शालिक मेयरले त्रिभुवन चोकमा त्रिभुवनको शालिक स्थापना गर्थे भने सायद मेयरको बोलि र काममा समानता देखिन्थ्यो तर आफैले संरक्षण गर्न नसकेको, आफैले आफै उपस्थित भएर मासेको इतिहास भजाएर जनताहरुलाई राजनैतिक प्रयोग गर्न खोजेको प्रस्ट देख्न र बुझ्न सकिन्छ । अनि कति दिन सम्म यसरि झुक्याउन सक्छन राणाले त्यो भने हेर्न बाँकी नै छ ।











