यस्तो बन्दै छ चितवनको नारायणी नदी किनार

चितवन : चितवनको नारायणी नदी किनारलाई ‘सी बीच’ मोडलको रुपमा विकास गरिने भएको छ । भरतपुर महानगरपालिकाको गौरबको योजनाको रुपमा नदी किनारलाई विकास गर्न लागिएको हो ।

देशकै मध्यभागमा पर्ने नारायणी नदी किनारलाई पर्यटकीय आकर्षक गन्तव्यको रुपमा समेत विकास गर्ने योजना अनुसार काम अगाडि बढेको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् । ‘लामो समयदेखिको कसरत पुरा भएको छ, मेयर रेनु दाहालले भनिन् हामीले एकपछि अर्को गर्दै भरतपुरको विकासमा ‘सी बीच’ मोडल ल्याएका हौँं ।

महानगरपालिकाले निर्माण गरेको गुरुयोजना अनुसार पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले प्रारम्भिक चरणको कामका लागि आज (बुधबार) टेण्डर आव्हान गरेको छ । डेढ वर्षभित्र काम सम्पन्न गर्ने योजनाका साथ करिब ६ करोडको टेण्डर आव्हान गरिएको विभागका इन्जिनियर सचिन्द्र यादवले जानकारी दिए । उनले भने, ‘२४ सय मिटर पैदल मार्ग, दुई ठाँउमा पार्किङ स्थल र गार्डेनिङको काम प्रारम्भिक चरणमा हुनेछ ।’

भरतपुर महानगरपालिकाले २३ करोडको लागत सहितको गुरुयोजना निर्माण गरिसकेको छ । गतवर्ष महानगरपालिकाले करिब एक करोडको लागतमा नदी किनारमा टायल बिछ्याउने काम गरिसकेको छ । यस्तै नारायणी नदी किनारमै रिगंरोडसहितको तटबन्धनको काम भइरहेको छ । पछिल्लो समयमा नारायणी नदी किनारमा मानिसहरुको भिड लाग्ने गर्दछ । विभिन्न ठाँउ मोटर बोट सयर गर्दै रमाउनेहरुको संख्या पनि उतिकै छ । यस थप पर्यटक बढाउने महानगरले विश्वास लिएको छ ।

नारायणगढ बजार नजिकै रहेको नारायाणी नदी किनारमा अहिले पनि एक दर्जन साना मोटरबोट सञ्चालनमा छ । यहाँ हरेक वर्ष ठुला मेला तथा महोत्सव लाग्दै आएको छ । यही स्थानलाई सि बिचको रुपमा अगाडि बढाउन लागिएको हो । हरेक दिन यहाँ दुइ हजारभन्दा धेरै व्यक्ति घुम्न आउने गर्दछन् ।

प्रतिक्रिया