काठमाडौं । बिमा समितिले कोरोना रिर्पोट भेरिफिकेशनका कारण बिमा दाबी भुक्तानीमा ढिलाई भएको जनाएको छ । कोरोना बिमा मापदण्ड अनुसार कोरोना बिमाको दायित्व बिमा समिति र नेपाल सरकारको समेत भएकाले यसको लेखा परीक्षण महालेखा परिक्षकको कार्यालयबाट हुन्छ । कोरोना बीमा मापदण्ड अनुसार कतिपय स्पष्ट नभएका कोरोना परीक्षण रिर्पोट इपिडिमियोलोजी तथा रोक नियन्त्रण महाशाखामा भेरिफिकेशनका लागि पठाउनुपर्ने भएकाले केही समय लाग्ने भएको समितिले जनाएको छ ।
कोरोना महामारीका कारण सबैभन्दा बढी गत असोज र कात्तिक महिनाका संक्रमण भएको र उक्त समयमा बीमा कम्पनीहरुमा कार्यरत कर्मचारी एवं बीमा समितिमा कार्यरत कर्मचारीहरुमा समेत संक्रमण देखिएकाले उक्त महिनामा दाबी भुक्तानी प्रकृया अवरुद्ध हुन पुगेको समितिले जनाएको छ । उक्त अवधिको दाबी भूक्तानीका लागि यो महिनामा सबैभन्दा बढी चाप पर्न गएको र यो चाप कम भएपछि नियमित तवरले भुक्तानी प्रक्रृया संचालन हुने समितिले जनाएको छ ।
बीमाको सर्वमान्य सिद्धान्त अनुसार एउटै दाबी विभिन्न बीमा कम्पनीहरुबाट छुट्टाछुट्टै किसिमले भुक्तानी नगर्ने हुँदा कतिपय बीमा दाबीहरु दोहोरो पर्ने भएकाले पनि भेरिफिकेसशन गर्न र दोहोरो भुक्तानी नियन्त्रण गर्न केही समय लागेको समितिको भनाइ छ ।
समितिका अनुसार मंसिर २४ गतेसम्मको तथ्यांक अनुसार कागजात पूरा भएका दाबी संख्या १७ हजार २३५, भेरिफिकेशनका लागि स्वास्थ्य सेवा विभागमा पठाइएको संख्या ४ हजार १५२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट भेरिफिकेशन भएर आएको संख्या २ हजार ४९३, दाबी भुक्तानीको विवरण संख्या ८ हजार १४५, सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी संख्या ९ हजार ९० र कागजात नपुगी पुनः निर्जिवन बीमा कम्पनीहरुमा फिर्ता भएको दाबी संख्या १ हजार १३६ रहेको छ ।









