तरकारी खेतीले फेरियो मुसहर समुदायको जीवन

उदयपुरको कटारी नगरपालिकाकी सीता सदाय जंगलबाट दाउरा खोजेर ल्याउने, स्थानीय बजारमा बेच्ने, फुर्सदको समयमा नदी तथा खोलामा गएर माछा मार्ने र त्यसैबाट जीविका चलाउने गर्थिन् । दाउरा बिक्री भएको दिन उनको घरको चुल्हो बल्थ्यो, बेच्न नसकेको दिन भोकै सुत्नु पर्थ्यो । तर अहिले त्यस्तो समस्या छैन ।

कटारी नगरपालिकाले उनलाई दुई कट्ठा जमिन दिएको छ । त्यसमा उनले तरकारी खेती गरेकी छन् । त्यसबाट अहिले दैनिक डेढ सयदेखि २०० सय रुपैयाँ आम्दानी हुने गर्दछ । ३७ वर्षीय सीता सदायमात्र होइन, कटारी नगरपालिकास्थित हरैयाका मुसहर समुदायका १७ घरपरिवारको दिनचर्या फेरिएको छ ।

बिहान उठ्नेबित्तिकै जंगल जाने, दाउरा खोजेर ल्याउने र बजारमा गएर बेच्ने अनि, त्यसबाट आएको रकमबाट दाल, चामल, तरकारी खरिद गरेर ल्याउने र बिहान–बेलुकाको छाक टार्ने गर्थे उनीहरु । तर अहिले ती सबै काम छाडेर दिनभरी उनीहरु बारीमै हुन्छन् । उनीहरुको बारीमा अहिले बन्दा काउली, धनियाँ, तोरी, रायो, मुला, खुर्सानी, गोलभेँडा, भान्टा, सखरखण्ड, बेथे लगायतका साग तथा तरकारी छन् । 

वरपरका उपभोक्ताहरु बारीमै आएर किनेर लान्छन् । कतिपय होटलले फोन गरेर अर्डर दिन्छन् अनि उनीहरुले त्यहाँसम्म पु-याईदिन्छन् । 
सीता सदाय भन्छिन्, ‘नगरपालिकाका मेयर र राष्ट्रिय कृषक समुह महासंघले हाम्रो जीवनलाई सहज बनाईदिएको छ, हामी निकै खुशी छौं टन्न खान पाएका छौं, छोराछोरीलाई खुवाउन पाएका छौं, हातमा सधै दुई÷चार पैसा हुन्छ । नत्र सधैँ जंगल गएर दाउरा खोज्नु पथ्र्यो, कहिलेकाहीँ दाउरा नपाएर रित्तै फर्किनु पथ्र्यो । दाउरा पाए पनि बजारमा गएर होटल–होटल, घर–घर बेच्नका लागि चहार्नु पथ्र्यो । कहिलेकाहीँ बिक्री नहुँदा समस्या नै हुन्थ्यो ।’
जुन दिन दाउरा बिक्री हुँदैनथ्यो, त्यो दिन आफूहरुको परिवारको छाक टार्नै मुस्किल हुने गरेको विगतलाई उनले सुनाइन् । ‘दुई महिनादेखि ती सबै समस्या हटेको छ,’ उनले भनिन् ।

नगरपालिकाले जमिन भाडामा लिएर मुसहर समुदायलाई बाँडेको छ । किसानसँग सहजीकरणको भूमिका कृषक समूह महासंघले गरिदिएको छ । सामूहिक खेती गर्नका लागि त्यहाँका मुसहर समुदायले लालीगुँरास दलित कृषक समूह गठन गरेको छ । उनीहरुले केही रकम त्यो समूहमा पनि जम्मा गर्छन् ।

समूहकी कोषाध्यक्ष जितनी सदायले केही अघि नै यसरी जमिन पाइएको भए आफूहरुको जीवनस्तर धेरै माथि उठिसकेको हुने बताइन् । उनले भनिन्, ‘अलि पहिले दिएको भए हाम्रा छोराछोरी यसरी बिग्रिने थिएनन्, मेरा दुई छोरीले स्कूलको शुल्क नै तिर्न नसकेर बीचैमा पढाई छाडे । दाउरा बेचेर छोराछोरी पढाउने कि पेट पाल्ने ? त्यही भएर मेरा छोरीहरुले पढ्न सकेनन् अहिले यो खेतीबाट दुईचार रुपैयाँ आम्दानी हुन थाल्यो, अब छोरीहरु ठुला भइसके, पढ्न जानै मान्दैनन् ।’

अहिले उनीहरुको बारीबाट धनियाँ, मुला र सागहरु धमाधम बिक्री भइरहेको छ । काउली, भान्टा, सीमी लगायतका तरकारी आउन बाँकी नै छ । बारीका तरकारी बेच्न योग्य भएपछि आम्दानी अझै बढ्ने विश्वास लिएको जितनी सदायको भनाइ छ । 

बारी पाएपछि पुरुषहरुले पनि काम गरेर समयको सदुपयोग गर्न थालेको उनले बताइन् । उनले भनिन्, ‘सबभन्दा खुशीको कुरा श्रीमानको बानीव्यहोरा पनि सुध्रिएको छ, काम नहुँदा रक्सी खानु हुन्थ्यो, अहिले त्यो पनि छाड्नु भयो, पहिला त्यति काम हुँदैनथ्यो, दिनभरी बरालिने, कुनै काम गरेबापत आउने रकमले रक्सी खाएर आउने गर्नुहुन्थ्यो । एक हिसाबले हाम्रो जीवन नर्कजस्तै भइसकेको थियो, अचेल त  खेतीमै ध्यान दिनुहुन्छ, यो वर्ष राम्रो भयो भने अरु जमिन पनि अधियामा लिएर खेती नै गर्छौँ ।’

अहिले खाना पकाउनका लागि घरघरमा ग्यासको प्रयोग हुन थालेको छ । दाउराको प्रयोग निकै कम भएको छ । बजारमा दाउरा बेच्न निकै गाह्रो हुने गरेको जितनीले बनाइन् । ‘अहिले पहिलाजस्तो खोला तथा नदीमा माछा पनि छैन । त्यसले गर्दा जीवन धान्न निकै गाह्रो भएको थियो,’ उनले भनिन्, ‘खेतीबाट यति फाइदा हुन्छ भन्ने आफूहरुलाई जानकारी थिएन, आफूले पनि ताजा तरकारी खान पाएका छौं बेच्न पनि पाएका छौं घरपरिवारमा सबै स्वस्थ्य छन् । आर्थिक रुपमा पनि सम्पन्न हुँदै गएका छौँ ।’

नगरपालिकाले दुई वर्षका लागि २ बिघा २ कट्ठा जमिन भाडामा लिएर विपन्न १७ घरपरिवारलाई बाँडेको छ । रातोपाटी

प्रतिक्रिया