
खजुरा गाउँपालिकाका अधिकाशं गाउँहरु तत्कालीन पुनर्वास कम्पनीले इजरायली मोडेलमा बसाएको बस्ती हो । त्यसैले पनि धेरैलाई अनौठो लाग्ने अंग्रेज़ीको अफ्लावेट (ए-बि-सि-डी)बाट खजुराका अधिकाशं गाउँहरुको नामाकरण गरिएको थियो ।
त्यसबेला अङ्ग्रेजी अल्फावेटको (ए-बि-सि-डी)संगै बाग्मतीनगर, गैरिनगर, अमरबस्ती जस्ता गाउँका नाम राखिए पनि अहिले चलनचल्तीमा (ए-बि-सि-डी)का नामहरु नै रहेका छन् ।
इजरायली मोडेलमा बसाएको बस्ती र उर्वर भुमिको कारण खजुरा कृषिको केन्द्र बनेको थियो । तत्कालीन कपास बिकास समितीको केन्द्रिय कार्यालय नै खजुरामा रहेका कारण पनि कपास उत्पादनमा बाँके र बाँकेको खजुरा अग्रस्थानमा आउथ्यो ।
त्यसपछि आलु, धान, गहुँ, चना, रहर,मसुरो जस्ता खाद्य बाली उत्पादनमा खजुरा अब्बल साबित भएको थियो । त्यसै बेला खजुरामा खाद्यान्नको गल्लाको लागी समेत प्रख्यात थियो । त्यसबेला खजुरा (हालको खजुरा ३ को बजार) गल्ला ब्यापारको केन्द्र समेत थियो ।
वडा कार्यालयले नै उत्पादन गर्र्यो च्याउ
खजुरा गाउँपालिका कृषि उत्पादन र उत्पादकत्वको हिसाबले उर्बर भुमि हो | तर पछिल्लो समय बैदेशिक रोजगार र त्यसबाट प्राप्त आर्थिक चलायामानको कारण जनतामा परनिर्भरता बढेको छ | हरेक कुरा खरिदा गरेर आफ्ना आवश्यकता पूर्ति गर्ने बानीको कारण देशको पैसा विदेशिने र परनिर्भरता बढ्ने क्रम बढेको छ | कृषिकै लागि भनेर चिनिने खजुरा गाउँपालिका वडा नम्बर दुईले भने आफ्ना सेवाग्राहीले देखेर सिकुन भनेर वडा कार्यालय परिसरमै नमुना करेसाबारी र च्याउ खेति संचालन गरेको छ |
कृषि क्षेत्रको प्रबर्द्धनमा भएका प्रयास
बिस्तारै खजुराले आफ्नो कृषि उत्पादनलाई नगदेबाली तर्फ मोड्दै गरेको देख्न सकिन्छ । नगदेबाली (तरकारी खेती तर्फ) आकर्षित बनेका किसानले खजुरामा विशेषत (मौसमी र बेमौसमी) टमाटर, बन्दा, काउली, मुला, साग, आलु, भिण्डी, बोरी लगायतका हरियो तरकारी उत्पादन गर्दै आएका छन् ।
बेलाबखत कृषि उपजले मूल्य नपाउदा किसान चिन्तित हुनुपरेको यथार्थ बाँकेको खजुराको पनि समस्या हो । देशको विभिन्न हिस्सामा किसानले आफ्नो उत्पादनले मूल्य नपाउदा सडकमै फालेर बिरोध गरेको त कहिले खेतमै नष्ट गरेको तस्वीर बेलाबखत सार्वजनिक भैरहन्छन। यस्तोमा खजुरा गाउँपालिकाले भने उत्पादनमा अनुदान र ढुवानी सहयोग गरि बजारीकरण गर्न सहयोग गर्दै आएको छ ।
खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक तुफानले खजुरा गाउँपालिकामा उत्पादन भएका कृषि उपजलाई सहकारी मार्फत बिक्रिका लागि उत्पादनमा अनुदान र ढुवानी सहयोग गरि बजारीकरण गर्न सहयोग गर्दै आएको बताउँछन् ।
‘खजुरा गाउँपालिकाले पालिकामा उत्पादन भएको कृषि उपजले मूल्य नपाएको अवस्थामा खजुरामा रहेको बागेश्वरी बहुउद्देश्यीय कृषि बजार सहकारी संस्था लि.हाटबजारमा सम्पर्क गर्न सकिने ब्यवस्था हामिले मिलाएका छौँ’, अध्यक्ष बिकले भने ।
पालिकाले पालिकामा उत्पादन भएको उपजहरु सहकारी मार्फत कृषि उत्पादन बिक्रि लागी उत्पादनमा अनुदान र ढुवानी सहयोग गरि बजारीकरण गर्ने नीति लिएको अध्यक्ष बिक बताउछन् ।
त्यस्तै खजुराले पालिकालाई कृषिमा आत्मनिर्भर मात्रै होइन जिल्लामा कृषिको हब बनाउन पालिकाले एक वडा एक नमुना फर्म कार्यक्रम संचालन गरेको छ ।
कृषि क्याम्पस संगको सहकार्यमा पढ्दै पढाउदै कार्यक्रम
खजुरा गाउँपालिका आफैमा कृषिको उर्बर क्षेत्र हो । कृषिकै लागी उपयुक्त माटो र राम्रो सम्भावना बोकेको बजार क्षेत्र समेत रहेको पालिका हो । त्यसैमा खजुरा गाउँपालिकामै कृषि क्याम्पस समेत स्थापना भएर कृषि बैज्ञानिक उत्पादनमा अग्रणी बन्ने होडमा रहेको छ खजुरा गाउँपालिका ।
सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले आफैंले कमाएर अध्ययन गर्न पाउने गरी कार्यविधि तयार पारेको छ ।
स्वआर्जन गरी अध्ययन गर्न चाहने र गरिबीको कारणबाट आय आर्जन गरी पढ्नुपर्ने अवस्थाका विद्यार्थीलाई लक्षित गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि, २०७८ तयार पारेको हो ।
कार्यविधिले स्वआर्जन गर्न चाहने र गरिब परिवारका विद्यार्थीमा उद्यमशीलता, स्वावलम्बन, प्राविधिक सीप तथा व्यावसायिक सोच विकास गरी आत्मनिर्भर बनाउने उद्देश्य राखेको छ ।
यस्तोमा बाँकेको खजुरा गाउँपालिकाले खजुरा गाउँपालिका वडा नम्बर ३ मा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकायबाट प्राकृतिक स्रोत व्यवस्थापन कलेज (कृषि क्याम्पस)संगको सहकार्यमा पढ्दै पढाउदै कार्यक्रम अगाडी बढाएको छ ।
बाँकेको खजुरा गाउँपालिका इजरायली मोडेलमा बसेको बस्ती हो, इजरायल बिश्वमै कृषिमा अगाडी छ । खजुरा गाउँपालिका वडा नम्बर ३ मै कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय प्राकृतिक स्रोत व्यवस्थापन कलेज रहेको छ, त्यसैले पनि खजुरा गाउँपालिकाले पढ्दै पढाउदै कार्यक्रम मार्फत खजुराको कृषि उत्पादन र कृषि बिज्ञको उत्पादन गर्न मद्धत पुग्ने बिश्वास लिएको पालिका अध्यक्ष डम्बर बहादुर बिक तुफान बताउछन् ।
‘हाम्रै पालिकामा कृषि क्याम्पस रहेको छ र हाम्रो खजुरा गापा इजरायली मोडेलमा बसेको बस्ती हो र बाँके र खजुरालाई कृषिमा अब्बल साबित गर्ने उदेश्यले पनि सरकारको पढ्दै पढाउदै कार्यक्रम कृषि क्याम्पस संगको सहकार्यमा हामिले अगाडी बढाएका छौं । खजुराकै कृषि क्याम्पसबाट कृषि बैज्ञानिक निस्कनेछन तसर्थ पनि भाईबहिनिहरुको अध्यनको लागी पनि यो कार्यक्रम उपयोगी बन्ने बिश्वास हाम्रो छ’, अध्यक्ष बिकले बताए ।