लागूऔषध प्रयोगकर्ताको उपचार र समाजमा पुनःस्थापनाको लागी सहकार्य आवश्यक

नेपालगन्ज : लागूऔषध प्रयोगकर्तालाई उपचारको पहुँचमा ल्याई समाजमा पुनःस्थापन गर्नु पर्ने र त्यसको लागी सबै सरोकारवालाहरुको सहकार्य आवश्यक रहेको  बताइएको छ ।

रिकभरिङ नेपाल लुम्बिनी प्रदेशले नेपालगन्जमा आयोजना गरेको एक कार्यशालामा सहभागी सरोकारवालाहरुले सो कुरालाई जोड दिएका हुन् ।

कार्यशालामा लागुऔषध प्रयोगकर्तालाई कसरी उपचारको पहुँचमा ल्याउने र  उनिहरुलाई कसरी समाजमा पुनःस्थापना गर्न सकिन्छ भन्ने कुरामा छलफल गरिएको थियो । त्यस्तै लागुऔषध प्रयोगकर्ताहरुमा हुने भेदभाव र लान्छनाले उनिहरुलाई उपचार प्रक्रियामा ल्याउने भन्दा पनि उनिहरुलाई समाजबाट एक्ल्याउने भएको हुँदा उनिहरुलाई समाजमा स्थाओअन गर्नको लागी सबै सरोकारवालाहरुले सहकार्य गरेर उनिहरुको मानवअधिकार र उपचार पाउने अधिकारको ख्याल गर्न सके लागू औषध प्रयोगकर्तालाई उपचार पद्धतिमा ल्याई समाजमा पुनःस्थापन गर्न सकिने कार्यशालामा जोड दिइएको थियो ।

रिकभरिङ नेपाल लुम्बिनी प्रदेशले नेपालगन्जमा बिहीवार आयोजना गरेको कार्यशालामा चेन्ज टिमका अध्यक्ष समेत रहेका रिकभरिङ नेपाल लुम्बिनी प्रदेशका फोकल पर्सन प्रबिन बिसि, चेन्ज टिम बाँकेका परियोजना अधिकृत यशोधा ज्ञवाली, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्द, स्वास्थ्य कार्यालय बाँकेका मानव नेपाली, जिल्ला प्रहरी कार्यालय बाँकेका नरेन्द्र प्रसाद जोशी, प्रेम बहादुर अधिकारी लगायत सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।

लागु औषध प्रयोग एउटा रोग हो र त्यस्तो अवस्थामा लागू औषध प्रयोगकर्ताले त्यसको उपचार पाउनु पर्छ भन्दै चेन्ज टिम र रिकभरिङ नेपालले वकालत संगै जनचेतनामुलक कार्यक्रम तथा मेथाडोन परियोजना समेत संचालन गर्दै आएको चेन्ज टिम बाँकेका परियोजना अधिकृत यशोधा ज्ञवालीले बताउनुभयो ।

एक दिने कार्यशालामा चेन्ज टिम बाँकेका प्रोग्राम कोर्डिनेटर इन्दिरा जिसिले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यशालामा चेन्ज टिमका अध्यक्ष तथा रिकभरिङ नेपाल लुम्बिनी प्रदेशका फोकल पर्सन प्रबिन बिसिले सबै सरोकारवाला निकायहरु मिलेर लागू औषध प्रयोगकर्ताको उपचार र उनीहरुलाई समाजमा पुनःस्थापनको लागि काम गर्नु पर्ने र रिकभरिङ नेपालले त्यसको लागि वकालत गर्दै आएको समेत बताएका छन् ।

नेपालमा अनुमानित १ लाख ३० हजार ४ सय २४ जना लागू औषध प्रयोगकर्ता रहेको र जस मध्य १ लाख २१ हजार ६ सय ९२ पुरुष र ९ हजार ७ सय ३२ जना महिला रहेको सन २०१९ को आकडाले जनाएको छ ।

प्रतिक्रिया