काठमाडौं उपत्यकामा शुक्रबार यो वर्षकै सबैभन्दा बढी चीसो मौसम महशुस गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले आज बिहान काठमाडौंको न्यूनतम तापक्रम दुई डिग्री मापन भएको जनाएको छ । बिहान पौने सातबजे मापन गरिएको तथ्यांकमा तापक्रम २ डिग्री सेल्सियस रहेको थियो ।
केही दिनयता उपत्यकासहित देशैभरीको तापक्रम घट्ने क्रम निरन्तर जारी छ । पश्चिमी न्यूनचापीय बायुको प्रभावका कारण चीसो अझै बढ्न सक्ने विभागको पूर्वानुमान छ । चीसो बढेसंगै खोलाकिनार र फाँटहरुमा बाक्लो तुसारो पर्न थालेको छ ।
मौसम पूर्वानुमान महाशाखाले पश्चिमी तराइका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु कुहिरो र बाँकी तराई भूभागका एक दुई स्थानहरुमा हल्का हुस्सु र कुहिरो लागिरहेको बताएको छ ।
शुक्रबार दिउँसो प्रदेश नं. १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । आज देशका अधिकांश स्थानहरुको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने महाशाखाको प्रक्षेपण छ ।









