नेपालगन्ज : भारतमा रोजगारीमा रहेका नेपाली घर फर्किने क्रममा स्वदेशी भूमिमा ठगिने गरेका छन् भने नेपालबाट रोजगारीको लागि भारत जानेहरू समेत सिमानाकामै ठगिने गरेका छन् ।
मध्य तथा सुदुर पश्चिमको ठूलो नाकाको रुपमा रहेको नेपालगन्जको जमुनाहा सिमानाकामा भारतबाट नेपाल आउने र नेपाल बाट भारत रोजगारीका लागी जानेहरू नेपालकै सिमानाकामा ठगिने गरेको दैलेख घर भै रोजगारीको लागि भारत जान नेपालगन्ज आएका सुरज नेपाली बताउछन् ।
यो समयमा झनै ठगिने गरिन्छ, पहिले आउदा ठगिनु पर्थ्यो अहिले चाहिँ जादा समेत पैसा नदिइ भारत जानै पाइदैन । उनले भने ।
नेपालगन्ज सिमानाकामा मात्रै होइन सुदुरपश्चिम प्रदेशको गौरिफन्टा नाकाको अवस्था समेत उस्तै छ । भारतबाट फर्किएका सुदूरपश्चिमका नागरिकहरु वर्षेनी यहाँ आइसकेपछि सवारी साधन सञ्चालन गर्ने व्यवसायीबाटै ठगिने गरेका छन् । यात्रुलाई गाडीको व्यवस्था गर्ने नाममा यहाँका सीमा नाकामा खटिने गरेका दलालहरुले आफूखुशी पैसा लिने गरेका कारण यात्रुलाई निकै पीडा तथा सास्ती हुँदै आएको छ । दलालहरुले आफूखुशी यात्रुबाट चर्को भाडा लिइरहेको जानकारी पाउँदासमेत यहाँको प्रहरी प्रशासन मौन बसेको स्थानीयवासीको गुनासो छ ।
त्यस्तै कोरोना कहर पछि नेपाल फर्किएका नेपालिहरु अहिले पुनः भारत फर्कने क्रममा छन् , उनिहरु रोजगारीको लागि भारत जानु पर्ने बाध्यता रहेकोले भारत जानको लागि पनि नेपाली सिमानाकमा खटिएका सुरक्षाकर्मीलाई पैसा बुझाउनुपर्ने बाध्यता रहेको बताउछन् ।
भारतबाट नेपाल फर्किने अधिकांश यहाँका नागरिकहरु भारतको गौरी फाण्टाबाट कैलालीको त्रिनगर भन्सार पु¥याएबापत दलाललाई रकम दिँदै आएका छन् । आफू त्रिनगरमा रहेका गाडी व्यवसायीबाट ठगिने गरेको मुम्बैबाट अछाम जान डोटीको दिपायल पुगेका नब टमाटाले गुनासो गरे । उनले भने, “गौरीफाण्टाबाट त्रिनगर पु¥याएबापत दलालले भारतीय रु ५०० लियो, त्यहाँबाट घर आउन गाडी चढ्दा दुई हजार ५०० तिर्नु प¥यो ।”
उनीजस्तै भारतबाट रोजगारी गरी घर आउने सयौँ सुदूरपश्चिमेली नागरिक हिजो आज दिनहुँ गौरीफाण्टा नाकामा गाडी व्यवसायीबाट ठगिँदै आएका छन् । भारतबाट आएका नागरिक राख्ने गौरीफाण्टास्थित होल्डिङ सेन्टरमा प्रहरीहरु खटाइएका भए पनि प्रहरीले समेत पीडितका गुनासा नसुन्ने तथा गाडी व्यवसायी तथा उनीहरुले खटाएका एजेन्टकै कुरा सुन्ने गरेको भारतको मदरासबाट रोजगारी गरी फर्किनुभएका डोटीको दिपायल सिलगढी नगरपालिका–२ खुल्लेकका परुवा भुलले बताए ।
उनले भने, “गाडी मालिकले मनोमानी पैसा लिँदैछन्, तोकिएकोभन्दा बढी पैसा लिएकोबारे प्रहरीलाई गुनासो गर्दा सुनुवाइ नै भएन उल्टै हप्काएर पठाए ।” भाडा बढी लिएको विषयमा गुनासो सुन्ने निकाय नभएका कारण भारतबाट नेपाल आउने यात्रुहरुलाई निकै सास्ती हुँदै आएको त्रिनगर आसपासका नागरिकहरु बताउँछन् । उता सुदूरपश्चिम बस व्यवसायी समिति कैलालीले धनगढीदेखि दिपायलसम्म रु ५५०, अछामको साँफे बगरसम्म रु ७५५ तथा मङ्गलसेनसम्म रु ९२५ भाडादर पहिलेदेखि कायम गरेको छ । तर त्रिनगर भन्सार गेटबाट यहाँका पहाडी जिल्लामा छुट्ने गाडीका चालकले आफूखुशी धनगढीदेखि दिपायलसम्म रु एक हजार, अछामको साँफेबगरसम्म रु एक हजार ५०० तथा मङ्गलसेनसम्म रु दुइ हजार ५०० सम्म भाडा लिने गरेको यात्रुहरुको भनाइ छ ।











