नेपालगन्ज : मध्यपश्चिम फुटबल इतिहासका होनहार ब्यक्तित्व स्वर्गीय श्याम थापा (हुइया) को सम्झनामा बाँकेको सैनिकमा फुटबल प्रतियोगिताको हुने भएको छ ।
खजुरा गाउँपालिका वार्ड नं.१ सैनिकमा जय किसान स्पोर्ट क्लब खजुराको आयोजनामा स्वर्गीय थापाको सम्झनामा पुष २७ गते देखी स्वर्गीय श्याम थापा स्मृति फूटबल प्रतियोगिता हुने भएको हो ।
करिब दुई बर्ष अगाडी थापाको दुर्घटनामा अल्पआयुमा निधनभएको थियो । मध्यपश्चिम खेलकुद बिकास समिती र बाँके फुटबल बिकासमा उल्लेख्य योगदान दिएका थिए ।
खजुरा गाउँपालिका वडा नम्बर एक सैनिक निवासी स्वर्गीय श्याम थापा (हुइया) ले बाँकेको खेलकुदमा दिएको योगदानलाई कदर गर्दै सम्झना स्वरुप उक्त फुटबल प्रतियोगिता गर्न लागिएको जय किसान स्पोर्ट क्लबका सचीव दिपक रानाले बताए ।
उक्त प्रतियोगिताको लागी बाँके बर्दिया मैत्री समाज जापानले प्रायोजन सहयोग गर्ने भएको छ । प्रतियोगितामा पहिलो र दोस्रो हुने टिमलाई क्रमश एक लाख ५ हजार र ५५ हजार नगद राशी पुरस्कार रहेको छ । सुरुमा प्रतियोगिता पुष ७ देखि आयोजना गर्ने भनिए पनि तयारीका लागि समय अभाव भए पछि पुष २७ गते पृथ्वी जयन्तीको दिन उद्घाटन गर्न लागिएको हो । प्रतियोगितालाई बाँके खजुराका खेलप्रेमीले सबैले अपनत्व गरेका छन् ।
प्रतियोगितामा भाग लिन बाँके संगै दाङ, सुर्खेत, कैलाली, बर्दिया, जुम्ला र भारतको लखनउ देखि समेत टिमहरु आउने लगभग निश्चित भएको क्लबका सचिव रानाले बताएका छन् ।











