जानकी :

बाँकेको जानकी गाउँपालिकाले ६७ औं विश्व कुष्ठरोग दिवस बिबिध कार्यक्रम आयोजना गरि मनाएको छ ।
‘कुष्ठरोग बिरुद्धको हाम्रो अभियान ,भेदभाव अन्त्य , मानवअधिकारको सम्मान’ भन्ने नाराका साथ ६७ औं विश्व कुष्ठरोग दिवस मनाएको हो ।
जानकी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै जानकी गाउँपालिका उपप्रमुख भुमिसरा धितालले क्रमिक रुपमा कुष्ठरोगीको संख्या गाउँपालिकाले न्यून गर्दै लैजाने र त्यसको लागि बजेट देखि जनचेतना सम्मको कार्यमा गाउँपालिकाले प्राथमिकतामा राखेको बताईन ।
उपाध्यक्ष धितालले समाज र परिवारले बढी भन्दा बढि कुष्ठरोगको बारेमा जनचेतना जगाउनु पर्ने बताइन् ।
कार्यक्रममा बोल्दै आइएनएफ बाँकेका प्रतिनिधि राधिका गिरिले कुष्ठरोगीहरुको पहिचान गरि उपचारमा सहयोग गर्न आग्रह समेत गरेकि थिइन ।
जानकी गाउँपालिका वडा नम्बर चारका अध्यक्ष विश्राम बर्माले कुष्ठरोगको बारेमा जसरी पहिले कुरा सुनिन्थ्यो त्यस्तो नरहेको र सामान्य रोग जस्तै भएको र उपचार पाएमा निको हुन्छ भन्ने कुराको चेतना फैलाउनु पर्ने बताए ।
जानकी गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख दल बहादुर रानाले स्थानिय निकायले रोकथामका कार्यक्रम गर्दै आइरहेको र पालिकाबाट कुष्ठरोगलाई निर्मुल पार्ने तर्फ आफुहरु अगाडि बढेको बताए ।
जानकी गाउँपालिकामा हाल ६ जना कुष्ठरोगिहरु रहेका छन् भने बाँके जिल्ला भरी ११४ जना कुष्ठरोगि रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यक्रमका सभापति प्रेम बहादुर लामाले कुष्ठरोगलाई जसरी पहिले ब्याख्या गरिन्थ्यो त्यसो नभएको र यसलाई समान्य रोग जसरी लिनु पर्ने र उपचारको गरे निको हुने रोग भएको बताउनुभयो । कुष्ठरोग कुनै देवि देवताको श्राप नभएर एउटा रोग भएकाले यसको बारेमा चेतना फैलाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा जानकी गाउँ पालिका अध्यक्ष राम निवास यदव , वडा नम्बर तिनका अध्यक्ष बिन्देश्वरी यादव , जानकी माबिका शिक्षक तथा बिद्यार्थी र गाउँबासिहरु लगायतको सहभागीता रहेको थियो ।











