भारत : पत्नीले अर्कै पार्टी रोजेपछि भारतको पश्चिम बङ्गाल राज्यमा दुई राजनीतिज्ञको एक दशक लामो वैवाहिक जीवन समाप्त हुने स्थितिमा पुगेको छ ।
पत्नी सुजाता मण्डल खानले बीजेपी छोडेर त्रिनामोल कांग्रेस पार्टी टीएमसी रोजेपछि भारतीय जनता पार्टीका सांसद उनका पति सौमित्र खानले सम्बन्धविच्छेद गर्न चाहेको सूचना पठाएका हुन् । पश्चिम बङ्गालमा केही महिनामा प्रान्तीय निर्वाचन हुँदैछ जसमा बीजेपी र टीएमसीबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
सोमबार श्रीमती खानले बीजेपी छोडेर टीएमसी आएको घोषणा गरेकी थिइन् । उनले आफूले यथोचित सम्मान नपाएको र बीजेपीले अन्य दलका भ्रष्ट नेताहरूलाई स्थान दिएको आरोप लगाएकी थिइन् । त्यसको केही घण्टापछि हतारमा बोलाइएको प्रेस सम्मेलनमा ४० वर्षीय श्रीमान् खानले आँखाभरि आँसु पार्दै श्रीमतीसँग १० वर्षे यात्रालाई पूर्णविराम दिने घोषणा गरे ।
उनले श्रीमतीलाई आफ्नो थर प्रयोग नगर्न भने । ‘कृपया आइन्दा खान थर प्रयोग नगर्नु र सौमित्र खानको श्रीमती पनि नभन्नू । म तपाईँलाई आफ्नो राजनीतिक भाग्य कोर्न सम्पूर्ण स्वतन्त्रता दिन्छु ।’
‘टीएमसीले मेरो श्रीमती चोर्यो, मेरो माया लग्यो,’ उनलाई उद्धृत गर्दै प्रेस ट्रस्ट अफ इन्डियाले लेखेको छ । यो घटनापछि विभिन्न पत्रपत्रिकाले यी दुईको अन्तर्वार्ता छापेका बीबीसीले लेखेको छ ।
‘उनी मेरो माया थिइन् । उनी साह्रै राम्रो श्रीमती थिइन् । उनी मेरो एकमात्र कमजोरी थिइन्,’ श्रीमान् खानले एक पत्रकारलाई भनेका छन् । उनले आफ्नो निर्वाचनमा श्रीमतीको भूमिका रहेको स्वीकारेका छन् । एक मुद्दाका कारण आफ्नै निर्वाचन क्षेत्रमा जान प्रतिबन्ध लागेका खानका लागि श्रीमतीले चुनावी अभियान नेतृत्व गरेकी थिइन् ।











