खजुरा : बाँकेको खजुरामा रहेको कुखुरा विकास फार्मले ग्रामिण तथा स्थानिय कुखुराको श्रोत केन्द्र स्थापना तथा स्वरोजगार कार्यक्रम अन्तगर्तका किसानहरुका लागी व्यवहारिक तालिम प्रदान गरेको छ ।
फार्मले ७ दिनको व्यवहारिक तालिमको आज समापन गर्दै तालिम लिएका किसानहरुलाई व्यवहारमा उतार्न आग्रह गरेको छ । तालिमको समापन गर्दै लुम्बिनी प्रदेश, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.रेवती रमण पौडेलले प्रदेशलाई कुखुराको मासुमा आत्मनिर्भर बनाउन उत्पादनमा विषेश जोड दिएको बताउदै तालिम लिएका किसानहरुलाई उत्पादनमुखि बन्न आग्रह गर्नुभयो ।
सचिव पौडेलले केहि गर्न खोजिरहेका किसानहरुलाई मन्त्रालयले सहयोग गर्ने बताउनुभयो । सचिव पौडेलले किसानले चाहेको तालिम प्रदान गरि उत्पादनमा वृद्धि गर्ने लक्ष्य राखेको बताउनुभएकोथियो । कार्यक्रममा बोल्दै पशुपंछी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक तुलसिराम भण्डारीले कुखुरा पालनमा लागत घटाई मुनाफा धेरै लिन तर्फ विषेश ध्यानदिन आग्रह गर्नुभयो । उहाँले स्थानिय कुखुराको माग धेरै भएकोले त्यसतर्फ आर्कषण बढाउन पर्नेमा जोड दिनुभयो ।
कुखुरा विकास फार्म खजुराका प्रवन्धक डा.शकर न्यौपानेको अध्यक्षतामा भएको तालिम समापनमा बोल्ने सहभागि किसानहरुले तालिममा व्यवहारिक रुपमा सिक्न पाइएकाले प्रभावकारी भएको बताएका थिए ।
तालिममा सहभागि लुम्बिनी प्रदेशका ८ जना किसानहरुको सहभागिता रहेको थियो । तालिम लिइसकेका किसानहरुलाई फार्मले व्यवसाय सन्चालन गर्न थप सहयोग गर्ने फार्मले जनाएको छ ।












