खजुरा : प्रदेश स्तरीय कृषि प्राविधिक कार्यसमूह वैठक बाँकेको खजुरामा आज सम्पन्न भएको छ । कृषि अनुसन्धान निर्देशनालय खजुराले आयोजना गरेको कार्यसमूह बैठकमा कृषि अनुसन्धान, कृषि विकास र कृषि प्रसारमा कार्यरत कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता थियो ।
निर्देशनालयका निर्देशक अमर बहादुर पुन मगरको सभापतित्व एवम् लुम्बिनी प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.रेवती रमण पौडलको प्रमुख आतिथ्यतामा भएको कार्यसमूह बैठकमा कोशेबाली अनुसन्धान कार्यक्रम खजुराका संयोजक डा.राजेन्द्र दराईले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।
बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत् लुम्बिनी प्रदेशका विभिन्न एग्रो इकोलोजीका लागि हालसालै विकसित कृषि र पशुसंग सम्वन्धित प्रविधि तथा कृषि अनुसन्धान, विकास, प्रसार र शिक्षा बीचको समन्वयमा नार्कको भूमिकाका विषयमा निर्देशनालयका प्राविधिक अधिकृत वशिष्ठ आचार्यलृ प्रस्तुतिकरण गर्नुभएको थियो ।
त्यस्तै कृषि विकास निर्देशनालयका निर्देशक यामनारायण देवकोटाले प्रदेशस्तरका कृषिसंग सम्बन्धित निकायहरुको तर्फबाट अनुसन्धानमूलक समस्या तथा कृषि अनुसन्धान, विकास, प्रसार र शिक्षा बीचको समन्वयमा प्रदेश सरकारको भूमिकाका विषयमा प्रस्तुति राख्नुभएको थियो ।
पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक तुलसीराम भण्डारीले प्रदेशस्तरका पशुपंक्षी तथा मत्स्यसंग सम्बन्धित निकायहरुको तर्फबाट अनुसन्धानमूलक समस्या तथा पशुपंक्षी एवम् मत्स्य अनुसन्धान, विकास, प्रसार र शिक्षा बीचको समन्वयमा प्रदेश सरकारको भूमिकाका विषयमा प्रस्तुति दिनुभएको थियो ।
त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रदेश कार्यालय इकाई रुपन्देहीका बरिष्ठ कृषि अधिकृत रामप्रसाद पाण्डेले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत् लुम्बिनी प्रदेशस्थित कार्यालयको तर्फबाट अनुसन्धानमूलक समस्या तथा कृषि अनुसन्धान, विकास, प्रसार र शिक्षा बीचको समन्वयमा प्रदेश कार्यालय इकाईको भूमिकाका विषयमा प्रस्तुति राख्नुभएको थियो ।
पक्लिहवा क्याम्पस रुपन्देहीका प्रमुख डा.रामभजन मण्डलले प्रदेशस्तरका कृषिसंग सम्बन्धित शैक्षिक निकायहरुको तर्फबाट अनुसन्धानमूलक समस्या तथा कृषि अनुसन्धान, विकास, प्रसार र शिक्षा बीचको समन्वयमा प्रस्तुतिकरण दिनुभएको थियो ।
कार्यक्रममा बाली तथा बागबाणी र पशुपंक्षी तथा मत्स्य समूह बनाएर समस्या पहिचान, प्राथमिकीकरण र अबको कार्यदिशाका विषयमा छलफल गरिएको थियो । कार्यसमूह बैठक समापन कार्यक्रममा प्रमुख अतिथि मन्त्रालयका सचिव डा.पौडेलले अनुसन्धानलाई प्राथमिकता दिँदै कृषिमा आत्मनिर्भर बनाउने दिशामा प्रदेश सरकार अघि बढेको बताउनुभयो । कार्यक्रमको सहजीकरण निर्देशनालयका प्राविधिकि अधिकृत रविन गिरीले गर्नुभएको थियो ।











