यमनको दक्षिणी शहर अदन स्थित विमानस्थलमा भएको विष्फोटमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । विष्फोटमा ५० भन्दा बढी मानिस घाइते भएका छन् । विष्फोटमा मारिएकाहरूमा अधिकांश सहायक कर्मचारी र अधिकारी रहेका छन् ।
सुरक्षा अधिकारीहरूका अनुसार हालसालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै विष्फोट भएको थियो । प्रधानमन्त्रीले आफू र मन्त्रिपरिषद् सदस्यहरु सकुशल रहेको बताएका छन् ।
विष्फोटको हालसम्म कसैले जिम्मा नलिएपनि यमनका सूचनामन्त्री मोहम्मर अल–एरियानीले इरान समर्थित होथी विद्रोहीको संलग्नता रहेको आरोप लगाएका छन् । साउदी अरेबियाको एउटा टेलिभिजन च्यानलले प्रसारण गरेको भिडिओमा धावनमार्ग (टरम्याक) मा मिसाइल आक्रमण गरिएसँगै विस्फोट भएको देखिन्छ ।
अन्तर्राष्ट्रिय रेडक्रसले आफ्ना एकजना कर्मचारी मारिएको जनाएको छ । यमनको एउटा समाचार वेबसाइट अल-मस्दरले श्रम मन्त्रालयका उप सचिव मारिएको र दुई जना उप-मन्त्री घाइते भएको उल्लेख गरेको छ ।
सो आक्रमणको केही समयपछि राष्ट्रपति भवन नजिकै अर्को विस्फोट भएको बताइएको छ । प्रधानमन्त्री मइन अब्दुमालिक लगायत मन्त्रिपरिषद सहस्यहरु र यमनका लागि साउदी राजदूतहरुलाई सुरक्षित रुपमा राखिएको स्थान नजिकै दोस्रो विस्फोट भएको बीबीसीले उल्लेख गरेको छ । दोस्रो पटक भएको विस्फोटको क्षतिबारे केही जानकारी गराइएको छैन ।
यमनमा सन् २०१५ यता बढेको द्वन्द्वका कारण एक लाख भन्दा बढीको मृत्यु भइसकेको छ । सन् २०१९ मा सैन्य परेड जारी रहेका बेला होथी विद्रोहीले आक्रमण गर्दा ३६ जना सुरक्षाकर्मीको निधन भएको थियो ।











