दैनिक ११ घण्टा सम्म लोडसेडिङ,पानीको स्रोत घटेको प्राधिकरणको भनाई

पानीको स्रोत कम हुन थालेको भन्दै बिद्युत प्राधिकरणले दैनिक ११ घण्टासम्म लोडसेडिङ गर्न थालेपछि बिद्यार्थी, व्यवसायी र सरकारी कार्यलयका कामकाज समेत प्रभावित भएका छन । 

पछिल्लो केहि समयदेखी हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुन थालेको छ । लोडसेडिङका कारण एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ । चर्को लोडसेडिङले आउने जेठमा एसइई तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ ।

    कोरोना सङ्क्रमण त्रासले विद्यालय नखुलेर पढ्न नपाएका विद्यार्थीले हिउँदको समयमा सिमकोटमा लामो समय लोडसेडिङ हुन थालेपछि एसइईमा नम्बर राम्रो नआउने भएको भन्दै चिन्ता गर्न थालेका छन् । जिल्लामा शैक्षिक सत्र खुलेको एक महिनापछि नेपाल सरकारले कोरोना त्रासका कारण गत वर्षको चैत ५ गतेदेखि देशभरका विद्यालय बन्द गरेसँगै यहाँका विद्यार्थीको पठनपाठन प्रभावित बनेको हो ।

    हिउँदे ट्युसनको भरमा एसइईको तयारी गरिरहेका जिल्लाका विद्यार्थीलाई दैनिक ११ घण्टा लोडसेडिङ हुँदा निराशा छाएको छ । हिल्दुम साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्रोत कम भएपछि दैनिक ११ घण्टा लोडसेडिङ गर्नुपरेको नेपाल विद्युत् प्राधिकरण कार्यालय सिमकोटका लालबहादुर लम्सालले जानकारी दिनुभयो ।
 
     यस्तै दैनिक ११ घण्टा लोडसेडिङले जिल्लाका सरकारी कार्यालयको प्रशासनिक काम तथा व्यापार–व्यवसाय प्रभावित बनाएको छ । दिनमा तीन पटक चर्को लोडसेडिङ हुन थालेपछि सिमकोटमा दाउराको माग बढेको छ । एक भारी दाउराको सिमकोटमा रु एक हजार तिर्नुपर्ने अवस्था छ । लोडसेडिङले सदरमुकाम सिमकोट, खार्पुनाथ गाउँपालिकामा सञ्चालित इलेक्ट्रोनिक पसल व्यवसाय गर्नेलाई पनि प्रभावित बनाएको छ ।  

त्यसो त काठमाण्डौ पोखरा लगायतका शहरहरुमा समेत यो वर्ष लोडसेडिङको औपचारिक तालिका नआएपनि बारम्बार बिजुली जान थालेको छ । नेपाल विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि सकिएसँगै बिद्युत जान थालेको चर्चा सामाजिक सञ्जालमा हुने गरेको थियो । तर पछिल्लो समय यो क्रम झन बढेकाले फेरि पनि देशैभर लोडसेडिङ हुन सक्ने त्रासमा अहिले सर्वसाधरण छन । 

प्रतिक्रिया