व्यवसायिक फार्मलाई खजुरा गाउँपालिकाद्वारा घाँस काट्ने मेसिन प्रदान

खजुरा : बाँकेको खजुरा गाउँपालिकाले पशुपालन गर्ने किसानहरुलाई घाँस काट्ने मेसिन वितरण गरेको छ । आज शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै गाउँपालिकाको पशु सेवा शाखाले किसानहरुलाई घाँस काट्ने चाप कटर वितरण गरेको हो ।

चाप कटर वितरण गर्दै गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले किसानका हितमा पालिकाले कार्यक्रमहरु ल्याएको बताउदै उत्पादनमुखि बन्न किसानहरुलाई आग्रह गर्नुभयो । प्रमुख कक्षपतिले खजुरालाई कृषिको ब्राण्डका रुपमा अघि बढाउन लागिएकोले सोहि अनुरुप आगामि योजना तर्जुमा हुने उल्लेख गर्नुभयो ।

आज पशु सेवा शाखाद्धारा वितरित घाँस काट्ने मेसिन पहिलो चरणमा ठुला व्यवसायिक किसानहरुलाई प्रदान गरिएको पशु सेवा शाखाका प्रमुख रत्न बहादुर शाहिले जानकारी दिनुभयो । घाँस काट्ने मेसिन प्राप्त गर्ने किसानहरु वार्ड न १ मा रहेको रमेश भैसी पालन फर्मका रमेश खड्का, वार्ड न ४ मा रहेको बिरु भैसी पालन फार्मका बिर बहादुर बुढाथोकी, वार्ड २ मा रहेको खत्री भैसी पालन फार्मका शोक बहादुर खत्री, वार्ड २ मा रहेको कुसल गाई पालन फार्मका आशिष थापा मगर, वार्ड ४ मा रहेको चन्द्र भैसि पालन फार्मका चन्द्र बहादुर कामि, वार्ड ३ मा रहेको बागेश्वरी गाई भैसी पालन फार्मका पार्वती खरेल रहेको पशु सेवा शाखाले जनाएको छ ।

वितरण कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष देविलाल खनाल, वडा नम्बर ४ का अध्यक्ष तिलकविर सुनार, व्यवसायिक किसानहरु लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया