बि–ग्रुपद्धारा खजुरामा न्यानो कपडा वितरण

खजुरा : भेरी वातावरणीय विशिष्टता समुह (बि–ग्रुप)ले अक्सफाम नेपालको सहकार्यमा खजुरा गाउँपालिकाको वडा नं.१,२,३,४ र ८ मा आईतवार ३०० जनालाई न्यानो कपडा वितरण गरेको छ । बि–ग्रुपले स्थानीय स्तरमा गएर कोरोना भाइरसबारे जनचेतना जगाउँदै स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको छ ।

कोभिड १९ कोरोना भाइरसले पारेको प्रभावलाई कम गर्न र साथै जाडोबाट बच्नको लागि जेष्ठ नागरिक, सुत्केरी महिला, गर्भवती महिला अपाङ्गता भएकाहरुलाई सहयोग गर्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको बि–ग्रुपले बताएको छ । न्यानो कपडामा २ ओटा उलनको सल , २ ओटा उलनको टोपी र एउटा थर्मश रहेको थियो ।

खजुरा गाउँपालिकाको वडा नम्बर १ मा ५० जनालाई र वडा नं.२ मा ६९ जनालाई, वडा नं.३ मा ६० जनालाई, वडा नंम्बर ४ मा ६१ जनालाई र वडा नम्बर ८ मा ६० जनालाई वितरण गरिएको हो । आईतवार आ–आफना वडा कार्यालयमा कार्यक्रमको आयोजना गरि वडा नं.१ मा महिला सदस्य फत्ते कुमारी जैसी, वडा नम्बर २ मा वडा अध्यक्ष देविलाल शर्मा, वडा नम्बर ३ मा वडा अध्यक्ष कान्तुराम गौतम, वडा नम्बर ४ का वडा अध्यक्ष तिलकबिर सुनार र वडा नं.८ मा वडा अध्यक्ष फिरोज खान, बि–ग्रुपका कार्य समिति सदस्य बशन्त थापा र कार्यक्रम संयोजक प्रकाश शर्माले स्थानीयलाई न्यानो कपडा सामाग्री प्रदान गर्नु भएको थियो ।

बि–ग्रुपको सहयोगले गर्दा वडाका विपन्न जनतालाई सहयोग पुगेको र ब्यवहार परिवर्तनमा सहयोग पुगेको वडा अध्यक्षहरुले बताएका थिए । यसअघि बि–ग्रुपले वडा कार्यालय र गाउँपालिका कार्यालयलाई विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरिसकेको छ । कोभिड–१९ कोरोना भाइरसले पारेको प्रभावलाई कम गर्न सहयोग गर्ने उद्देश्यले अक्सफामको साझेदारीमा संचालन गरेको ‘स्वच्छता लागी व्यवहार परिवर्तन परियोजना’ स्वास्थ्य सामाग्री सहयोग गरिएको कार्यक्रम संयोजक प्रकाश शर्माले बताए ।

स्वच्छताका लागी व्यवहार परिवर्तन परियोजना कार्यक्रम खजुरा गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र ८ मा संचालन भैरहेको बि–ग्रुपका लैङ्गिक अधिकृत सोम गुरुङ्गले जानकारी दिए ।

प्रतिक्रिया