संविधानलाई भत्काएर चुनावमा जान सकिदैन – डा. मिनेन्द्र रिजाल

नेपालगञ्ज : नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले संविधान जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताउनुभएको छ । नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरपालिका कमिटिले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य डा.रिजालले संविधानलाई भत्काएर चुनावमा जान नसकिने जिकिर गर्दै सग्लो संविधान शिरमा राखेर मात्र जनतामा जानुपर्ने बताउनुभयो ।

“कांग्रेसका साथीहरु पनि अलमलमा नपर्नुस्, संविधानलाई भत्काएर चुनावमा के भनेर जाने ?, सग्लो संविधान शिरमा राखेर जनतासमक्ष जाने हो, अवसरबादी भएर कांग्रेसले सोच्न सक्दैन, कांग्रेसको नेतृत्वमा बनेको संविधान केपी ओलीले भत्काएका छन्, यसलाई पुरानो ठाउँमा नफर्काएर चुनावमा जाँदा जनतासंग हामीले के भनेर मत माग्ने ? डा. रिजालले भन्नुभयो-“पार्टीलाई फाइदा हुन्छ भन्दैमा चुनावमा कुद्ने होइन, विधि विधानलाई ध्यान दिउँ, संसद् पुनःस्थापनको विकल्प छैन ।”

चुनाव हुन्छ भन्ने भ्रममा कोही पर्न नहुने बताउँदै उहाँले चुनाव गर्नलाई संविधान भत्काएर संसद् विघटन गरिएको नभई सत्तामा बसिरहन बद्नियतपूर्ण तरिकाले संसद् विघटन गरिएको जिकिर गर्नुभयो । डा. रिजालले भन्नुभयो-“हिजो कांग्रेससंग हारिन्छ भनेर सबैभन्दा मन नमिल्नेसंग गठबन्धन बनाएर चुनावमा जाने पात्रले एक्लै चुनावमा जान मिति घोषणा गरेका हुन् भन्ने ठान्नु मुर्खता हो, यो गर्नलाई घोषणा गरिएको चुनाव होइन ।”

पूर्व मन्त्री समेत रहनुभएका डा.रिजालले संविधान भत्काउने प्रधानमन्त्री केपी ओलीको विदाई अवश्यम्भावी रहेको बताउनुभयो । डा. रिजालले भन्नुभयो-“अमेरिकामा अधिनायकबादका प्रतिक ट्रम्प ढलेका छन्, अब नेपालमा केपी पनि ढल्छन् ।” उहाँले राष्टपति विद्यादेवी भण्डारी मर्यादामा बस्न नसक्दा केपी ओली प्रबृत्ति बढेको भन्दै राष्टपतिलाई ओली गुटको सदस्य बनेर नभई आफ्नो मर्यादामा बस्न चेतावनी दिनुभयो ।

विरोधसभालाई बाँके कांग्रेस सभापति किरण कोइराला, लुम्बिनी प्रदेशसभा सदस्यहरु सुरेन्द्र हमाल, मोहम्मद याकुब अन्सारी, नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ता, प्रदेश २ क का सचिव शिवकुमार बर्माले सम्बोधन गर्दै प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएकाले यसका विरुद्ध निरन्तर आन्दोलनको विकल्प नभएको बताउनुभयो । नगर सभापति प्रशान्त विष्टको सभापतित्वमा भएको विरोधसभाको सञ्चालन ध्रुव प्रसाद दाहालले गर्नुभएको थियो ।

आजै डुडुवा गाउँपालिका कमिटिले गरेको विरोधसभालाई पनि डा।रिजालले सम्बोधन गर्नुभएको थियो । जिल्ला सभापति कोइराला, गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी, क्षेत्रीय सभापति गुप्ता, प्रदेशसभा उम्मेदवार निरन्जनसिंह सिंजापति लगायतले बनकट्टीमा आयोजिता सभालाई सम्बोधन गर्नुभएको थियो । विरोधसभा कांग्रेस गाउँपालिका सभापति छोटेलाल बर्माको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया