नेपालगन्ज : केही दिन देखि नेपालगन्जमा चिसो अत्याधिक बढ्दै जादा यहाको जनजीवन कष्टकर बन्दै गएको छ । नेपालगन्जमा शितलहर र चिसो हावाले जनजीवन अस्तव्यस्त हुन लाग्दा समेत नेपालगन्ज उपमहानगरपालिका र अन्य स्थानिय तहले गत बर्ष जस्तै दाउराको ब्यवस्थापन गर्न नसक्दा स्थानिय रुष्ट बन्दै गएका छन् । नेपालगन्ज उपमहानगरपालिका र अन्य स्थानीय तहले चिसोबाट नागरिकलाई बचाउन नत दाउरा बाँडेका छन न त जेष्ठ तथा विपन्न समुदायलाई न्यानो कपडा नै वितरण गर्न सकेका छन् ।
नेपालगन्जमा अत्यधिक हुस्सु र चिसोले विपन्न समुदायका नागरिकहरु ठूलो सकसमा परेका छन् । दैनिक मजदुरी गरेर रोजीरोटी टार्नेहरुको पीडा पनि कमविजोगको छैन् । ‘मंसिर महिनामै चिसोबाट जोगाउने योजना ल्याउनु पर्ने हो एकजना नगरबासी भन्दै थिए–‘मेयर सावलाई के को चिन्ता कार्यालयमा हिटर छदै छ बाहिर निस्कनु परे गाडी क्वाटरमा हिटर उहाँलाई जाडोको अनुभूति नै छैन् ।’ आक्रोस मिश्रित ती नगरबासीको गुनासो यर्थाथ पनि हो ।

‘चिसोले नेपालगन्ज कठ्याङ्ग्रीदै गएपनि मेयर राणाले नगरका चोक तथा गलीहरुमा दाउराको व्यवस्था गर्न सकेका छैनन् । कोरोना महामारीका बेला चिसोले विरामी, बालबालिका र बृद्धबृद्धा झन प्रभावित हुन पुगेका छन् । बालबालिका र बृद्धबृद्धालाई चिसोबाट जोगाउने उपायबारे नेपालगन्ज उपमहानगरपालिकाले न्यानो कपडा र आगो ताप्ने व्यवस्था मिलाउनु पर्ने हो ।’ उनले भने ।
आफ्ना जनतालाई जोगाउनु स्थानीय सरकारको दायित्व हो । स्थानीय रामचन्द्र रेग्मी भन्छन्–‘ मेयरको कामै छैन्। होटल र पसल उद्घाटनमा व्यस्त देखिन्छन्। चुनाव जितेपछि कहिले पनि जनताको घरमा आएनन् बरु राजा आउ देश बचाउ भन्दै पो सडकमा नारावाजी गरिरहेका छन् ।’ त्यस्तै राजकुमार क्षेत्रीले पनि मेयरप्रति आक्रोस पोखेका छन् । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्–‘आन्दोलनको लागि खर्च कहाँबाट आउँछ ? यती धेरै कपडा रंग्याएर फाल्नु भन्दा यो जाडोमा कठ्याङग्रीएका जनतालाई वितरण गरेको भए कति सार्थक हुन्थ्यो होला ?’ चिसोले अल्पसंख्यक तथा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् ।
चिडिमार, घँसियार, मगन्ता, कुचबधियालगायतका गरीव समुदाय सबैभन्दा बढी प्रभावित छन् । फुसले छाएको कच्ची घर, लगाउने लुगा र ओढ्ने र ओछ्याउने नहुँदा कष्टकर दैनिकी बिताउन बाध्य भएका छन् । नेपालगन्जका उपमेयर उमा थापाले भने चिसोबाट जोगिनका लागि तत्काल राहातका कार्यक्रम सुरु हुने दावी गरेकी छिन् ।

उनले नगरमा आगो ताप्ने व्यवस्थाका लागि वन कार्यालयसँग समन्वय भइसकेको जानकारी दिइन् । त्यस्तै विपन्न समुदायका नागरिकहरुलाइ न्यानो कपडा वितरण गर्ने निर्णय भइसकेको पनि उनको भनाइ छ । उनले सबै वडाका ज्येष्ठ नागरिकहरुलाई चिसोबाट जोगाउन न्यायो कपडा दिने उल्लेख गरेकी छिन् ।












