नेपालगन्ज : नेपालगंज उप-महानगरपालिका र जानकी गाउँपालिकाका किशोरीहरुलाई प्रविधिको सुरक्षित प्रयोग र साइबर कानुनबारे तालिम दिइएको छ ।
प्लान इन्टरनेशनल नेपालको क्षेत्रीय कार्यालय सुर्खेतको सहयोगमा स्याक नेपाल बाँकेले आयोजना गरेको २ दिने तालिम शनिबार सम्पन्न भएको हो । प्रशिक्षक तिलक गाहा मगरका अनुसार तालिममा इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगबाट हुने फाइदा, इन्टरनेट र सामाजिक सञ्जालको सुरक्षा, साइबर अपराध, गुनासो, उजुरी तथा जाहेरी गर्ने स्थान र साइबर अपराधबाट बच्ने उपायबारे जानकारी गराइएको थियो ।
त्यसैगरी महत्वपुर्ण वेभसाइटहरुको बारेमा, इमेल आइडी निर्माण, ईमेल कसरी गर्ने र उत्तर कसरी दिने, इमेलका सामग्री कसरी डाउनलोड गर्ने भन्ने विषयमा पनि जानकारी दिइएको थियो । त्यसैगरी फेसबुक आइडी, फेसबुक पेज, फेसबुकमा प्राइभेसी सेटिंग, जुम, युट्यु च्यानलमा भिडियो अपलोड, ब्लग र अनलाइन मिडियामा समाचार पोस्ट गर्नेलगायतका विषयमा प्रशिक्षण दिएएको थियो ।

नेपालगंज उप-महानगरपालिकामा गठित किशोरी क्लबका नेलिसा गिरीले यस तालिममा साइबर अपराध भनेको के हो ? साईबर अपराधबाट कसरी बच्न सकिन्छ भन्ने बारे जानकारी पाएको बताइन् । त्यसै गरि जानकी गाऊँपालिकामा गठित किशोरी क्लबका अर्का सहभागी यशोदा पुन मगरले सामाजिक सन्जाल कसरी सुरक्षित रुपमा सन्चालन गर्ने बारे प्राविधिक ज्ञान पाएको बताइन् ।
स्याक नेपालको जानकी गाऊँपालिकाका फिल्ड सुपरभाइजर अक्लिम खानका अनुसार तालिमका नेपालगंज उप-माहानगरपालिकाको किशोरी क्लबका पदाधिकारी र सदस्य गरी २५ जनाको सहभागिता रहेको थियो । त्यस्तै गरी जानकी गाऊँपालिकाका फिल्ड सुपरभइजर अर्मिला रोकायले जानकि गाऊँपालिका बाट २५ जनाको सहभागिता रहेको जानकारी दिए ।
बाल बिवाहले पार्ने नकारात्मक प्रभाव र कानूनी ब्यवस्थाका बारेमा जानकारी गराई बालबिवाह रोक्न अभिप्रेरित गर्ने, बालमैत्री र लैंगिक मैत्री बातावरण संचालन गर्नमा मद्धत पुग्ने लगायतका उदेश्यका साथ तालिमको आयोजना गरिएको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी गराउनुभयो । साथै उहाँले बाँकेको आठ वटै स्थानीय तहलाई स्याक नेपालले बाल विवाहमुक्त वडा बनाउन रणनिति बनाईरहेको र स्थानीय सरकारसंग समन्वय र सहकार्य गरि कार्य गरेको जानकारी दिनुभयो ।









