भेरी अस्पतालको घटना पछि ज्ञानेन्द्र शाहीको सर्वत्र आलोचना, नेपालगन्जका मिडियाले यस्तो लेखे

नेपालगन्ज : भ्रष्टाचारविरोधी नागरिक अभियन्ता  ज्ञानेन्द्र शाही समूहले निगरानीका नाममा भेरी अस्पतालका स्वास्थ्यकर्मी माथी दुव्र्यवहारको समाचार र पोस्ट सामाजिक संजालमा छरिए संगै उनको सर्वत्र आलोचना सुरु भएको छ  । 

नेपालगन्जका प्राय सबै न्युज पोर्टलहरुले घटनाको केही समयमै उनको समाचार प्राथमिकताका साथ छापेका थिए । नेपालगन्जको इसेतोखरी डटकममा ‘निगरानीका नाममा ज्ञानेन्द्र शाही समुहको भेरी अस्पतालमा दादागिरी : नर्सलाई दुव्र्यवहार, डाक्टरमाथि हातपात’  शिर्षकमा सम्भवत सबैभन्दा पहिला समाचार प्रकाशित भएको थियो । त्यस लगत्तै नेपालगन्जकै अर्को अन्लाईन पोर्टल अर्थ पेजले “अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा बबन्डर मच्चाए ज्ञानेन्द्र शाहीले,भेरीका स्वास्थ्यकर्मी माथी दुव्र्यवहार” शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।

त्यस्तै नेपालगन्जको न्युज पोर्टल दस्ताबेजले ‘स्वघोषित अभियन्ता शाहीको समूहद्धारा भेरीका चिकित्सकसहित स्वास्थ्यकर्मीमाथि हातपात, नागरिक अभियन्ताको प्रमाणपत्र कस्ले दियो ? प्रहरीमा मुद्दा दर्ता’ शिर्षकमा समाचार लेखेको थियो ।

नेपालगन्जबाट संचालित स्वास्थ्य बिटमा कलम चलाउने अन्लाईन न्युज पोर्टल स्वास्थ्य पेजले ‘भेरी अस्पतालका चिकित्सक र नर्सिङ स्टाफमाथि हातपात’ शिर्षकमा समाचार लेखेको छ ।

नेपालगन्जका मिडियाले मात्रै होइन , सर्वसाधारण र बुद्धिजीवी बर्गले समेत शाही र शाहिको समूहले भेरी अस्पतालमा गरेको क्रियाकलापको आलोचना गरेका छन् ।

बिबादित छबिको मानिने शाहिको समूहले घटाएको भेरी अस्पतालको घटनाले अहिले बिस्तारै सामाजिक संजालमा चर्चा पाइरहेको छ ।

सोमबार दिउँसो अस्पतालमा निगरानीका लागि पुगेको भनिएका शाही नेतृत्वको समूहले अस्पतालका डाक्टर विपिन आचार्य लगायत नर्सहरूमाथि दुव्र्यवहार गरेको भेरी अस्पतालले बताएको छ ।

एक्कासी नर्सहरू रहेको नर्सिङ युनिटमा पसेका ज्ञानेन्द्र शाही र उनको समूहका सदस्यले विरामीको उपचार र सेवामा लागिरहेका नर्सहरूसँग विवाद गरेका थिए ।

उक्त विवाद बढेपछि नजिकै रहेका डाक्टर आचार्य सहजिकरणका लागि गएका थिए र डाक्टर आचार्यले शाही समूहले भने र सोधेअनुसार काममा सहजिकरण गरेको र उक्त समूहका एक जनाको नाम, ठेगाना लेख्दा घर कहाँको भनि सोधेका थिए ।

यस क्रममा घर जुम्ला हो भन्ने थाहा पाएपछि एए जुम्ला मात्रै भनेका डाक्टर आचार्यमाथि ज्ञानेन्द्र समूहका युवाहरूले विना कारण हातपात गरी दुव्र्यवहार गरेको डाक्टर आचार्य बताउँछन ।

प्रतिक्रिया