खगेन्द्र दाहाल,खजुरा : बाँकेको खजुरामा लुम्बिनी प्रदेश, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अनुदान दिएर निर्माण भएको हाट बजारका सटरहरु प्रयोगविहीन अवस्थामा छन । बागेश्वरी बहुउदेश्यीय कृषि बजार सहकारी सस्था खजुरामा आर्थिक वर्ष २०७५,०७६ मा निर्माण सम्पन्न गरिएको ५ वटा सटर प्रयोगविहीन अवस्थामा रहेको छ ।
कुल २० लाख लगानी लागेको भनिएको उक्त सटरमा प्रदेश सरकारले १५ लाख रुपैया अनुदान स्वरुप सहकारीलाई दिएको हो । सरकारी अनुदान सहि स्थानमा प्रयोग नहुदाँ अनुदान दिने नै विबादमा आउने गरेको यस्तै कारणले हो । सुरुमा केहि सटर माछा तथा तरकारी व्यापारिले प्रयोगमा ल्याएपनि अहिले कसैले प्रयोग गरेका छैनन ।

लाखौ लगानि लागेको सटर त्यसै खालि अवस्थामा रहेको छ । सहकारीद्धारा संचालित उक्त हाट बजार नामको मात्र संचालनमा रहेको छ । हाट बजारमा किसानले आफना उत्पादन विक्रि गर्न ल्याउन नै छाडेका छन । हाट बजारमा दुई वटा व्यापारीका नियमित तरकारी पसल छन भने अन्य स्थान खालि नै रहेको पाइएको छ ।
सहकारीका अध्यक्ष कमला न्यौपानेलाई किन हाट बजारको यस्तो दयनिय अवस्था आयो भनेर सोध्दा उहाँले पहिले पहिले धेरै राम्रो हाट बजार चलेपनि हाल किसानहरुले आफ्ना उत्पादन नल्याउँदा कृषि बजार सुक्दै गएको बताउनुभयो । कृषि हाट बजारमा हाल सम्म करोड बढि लगानी भैसकेको छ ।

हाट बजार सुधार गरेर खजुराका उपभोक्तालाई गुणस्तरिय तरकारी तथा माछा मासु उपलव्ध गराउने उदेश्य बोकेको भएपनि अहिले किसानले उत्पादन नल्याउदा बजार नै बन्द गर्नुपर्ने अवस्थामा आइपुगेको छ । अन्य व्यवसायिक बजारमा पाइने तरकारी लगाएतका बस्तुको मुल्यमा भन्दा कृषि हाट बजारमा सस्तो नभएर उहि मुल्यमा उपभोक्ताले खरिद गर्न परिरहेकाले कृषि हाटबजारमा जान छाडेको एक स्थानियले बताए ।
सरकारले अनुदान दिदै कृषि उपज बजारहरु स्थापना गरेपनि त्यसको संचालनका विषयमा भने चासो नदिएको पाइन्छ । सरकारले त कृषि हाट बजार संचालन गर्न धेरै पटक अनुदान दिईसकेको छ तर यसको सहि तरिकाले संचालन गर्न संचालन समिति तथा स्थानीय किसानहरुले चासो दिन जरुरि छ ।











