नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले आसपासका जिल्लाहरुमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ गरेको छ ।
बाँके तथा आसपासका जिल्लाहरुमा मोटरसाइकल चोरी गरि बेचबिखन गर्ने गिरोहलाई बुधबार बाँके प्रहरीले उक्त पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।
बाँके जिल्लाको यातायात कार्यालय अगाडी, मालपोत कार्यालय अगाडी, भेरी अस्पताल अगाडी, नर्सिङ होम अगाडी तथा आसपासका भिड हुने स्थानबाट मोटरसाइकल चोरी हुने गरेको सुचना जिल्ला प्रहरी कार्यालय बाँकेलाई प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख ओम बहादुर रानाले बताए ।

नेपालगन्ज १८ स्थित क्लाउड ९ को पार्किङ परिसरबाट नेपालगन्ज २० का प्रतीक गुरुङको मोटरसाइकल चोरी भएको सुचनाको आधारमा बाँके प्रहरीले बिशेष टोलि गठन तथा परिचालन गरि अनुसन्धान गर्दै जादा उक्त मोटरसाइकल प्युठानमा बिक्री गरेको पाइएको थियो । जिल्ला प्रहरी कार्यालय बाकेका प्र.स.नि. बिबेक अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलिले प्युठानको प्रहरी संग समन्वय गरि ६ वटा मोटरसाइकल सहित ६ जना ब्यक्तिलाई पक्राउ समेत गरेको छ ।
पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका वडा नम्बर ३ धौलागिरीका राम बहादुर थापा, चन्दननाथ नगरपालिका ४ जुम्लाका नेपालगन्ज बसपार्क बस्ने धिरेन्द्र बिक्रम शाही, गढवा गाउँपालिका ४ दाङका ईरसाद अहमद मुसलमान, लुग्री गाउँपालिका १ रोल्पाका छबिलाल पुन मगर, लुग्री गाउँपालिका १ रोल्लाकै नवराज रोका क्षेत्री र नेपालगन्ज १० बाँकेका रन्जित शर्मा रहेका छन् ।

पक्राउ परेका राम बहादुर थापाले भारतिय केही ब्यक्तिहरु संग मिलि बिगतमा भारतबाट चोरिको मोटरसाइकल खरिद गरि नेपालमा बिक्रि गर्ने गरेको खुलेको छ र लकडाउन पश्चात् भारतबाट चोरिको मोटरसाइकल आउन छोडे पछि थापाको गिरोहले नेपालगन्जबाट मोटरसाइकल चोरी गरि जुम्ला, प्युठान लगायतका पहाडी जिल्लामा बेच्ने गरेको पाइएको बाँके प्रहरी प्रमुख एसपी रानाले बताए ।












