प्रयास फाउन्डेसनको प्रयासमा बालबालिकाको मुहारमा खुसी

नेपालगन्ज : नेपालगन्जका युवाहरूको एउटा टिम सरस्वती पुजा (वसन्तपञ्चमी) को दिन बिहानै सरस्वती पुजाको प्रसाद मात्रै होईन, साथमा विभिन्न स्टेसनरी सामाग्री बोकेर नेपालगन्ज वडा नम्बर १२ कोरियनपुर स्थित वाल्मीकि नेरा प्राथमिक विद्यालय पुगेर सबै विद्यार्थी संगै बसेर सरस्वती पुजाको प्रसाद मात्रै खाएनन उनिहरु सबैका लागि किताब,कलम, कपि तथा अन्य स्टेसनरी सामाग्री उपहार दिए ।

यी र यस्तै कार्यमा देखा पर्ने नेपालगन्जका युवाहरुको यो समूहले केही दिन अगाडी नेपालगन्जमा मीठो छले आयोजना गरेको अन्लाईन बिजनेस फेस्टिभलमा स्टल राखेर पानीपुरी बेचिरहेका थिए । कहिले नेपालगन्जको कुनै टोलमा साना बालबालिकालाई सरसफाइ गर्न सिकाउने यो समुह कहिलेकाहीं आवश्यक परेका बालबालिकाको लागि कपडा र शैक्षिक सामाग्री बितरण गर्दै गरेको अवस्थामा देखा पर्छन् ।

नेपालगन्जमा यो समूहले अहिले भने नाम प्राप्त गरेको छ, ‘प्रयास फाउन्डेसन’ भनेर । प्रयास फाउन्डेसनले साना बालबालिकाको मुहारमा खुसी मात्रै होईन उनिहरुको लागि राम्रा लुगा र शैक्षिक सामाग्री प्रदान गर्दै आएको छ ।

प्रयास फाउन्डेसनमा हाल करिब १० जना नेपालगन्जका युवाहरु रहेको भए पनि प्रयासले कुनै कार्यक्रम वा केही कार्य गर्नुपरेको खण्डमा धेरै साथहरुले साथ दिने गरेको बताउछन् प्रयास फाउन्डेसनलाई मुर्तरुप दिन लागेका सन्ध्या शाह ।

सन्ध्या शाह नेपालगन्जको लागि नयाँ नाम होईन , मिस नेपालगन्ज २०१९ को विजेता हुन् सन्ध्या शाह । मिस नेपालगन्जको उपाधी जिते संगै सामाजिक उत्तरदायित्व बढेको महसुस गरेकी शाहको मनमा समाज सेवाको भावना भने सानै देखि थियो ।

उनको पुर्खौली घर रोल्पा हो , बिदामा रोल्पा पुग्दा त्यहाको अभाव, गरिबी र साना बालबालिकाको लागि शैक्षिक सामाग्री अभावको अवस्था देख्दा मन खिन्न हुने गरेको र त्यसैबेला देखी नै बालबालिकाको लागि केही गर्न पाए हुन्थ्यो भन्ने लागे पनि अहिले आएर यसको सुरुवात गरेको बताउछन सन्ध्या शाह ।

“हामी संग हामिलाई नहुने वा मन नपरेको वा पुरानो लुगाहरु हुन्छ तर त्यही लुगालाई नयाँ तरिकाले तयार गर्न सकिन्छ र त्यो कसैका लागि महत्त्वपूर्ण हुन्छ, हामी संग प्रयोगमा नआएको वा हामिले दिन सक्ने सानो सानो शैक्षिक सामाग्रीले बिपन्न परिवारको बालबालिकाको लागि शैक्षिक बिकासमा ठूलो योगदान दिन सक्छ त्यसैले यो प्रयास हामिले सुरुवात गर्यौ” , उनले बताए ।

नेपालगन्जमा मीठो छ ले आयोजना गरेको फेस्टिभलमा एउटा स्टल राखेर पानीपुरी र चटपटे बेचेर प्रयास टिमले सरस्वती पुजाको दिन वाल्मीकि प्राबिको बिद्यार्थीलाई खुसी प्रदान गरेको छ भने लायन्स क्लब संग समन्वय गरेर प्रयास फाउन्डेसनले बालबालिकाका लागि स्कुल ब्याग समेत प्रदान गरिसकेको ।

प्रयासले १० जना बालबालिकालाई शैक्षिक संगै अन्य सामाग्री र सहयोगबाट सुरु गरेको भए पनि अहिले प्रयास संग ३० जना बिद्यार्थीहरु रहेको बताउछन् फाउन्डेसनका सन्ध्या शाह । प्रयासले आर्थिक अवस्था कमजोर रहेका बालबालिकाको शैक्षिक र भावनात्मक रुपमा सहयोग गर्दै उनिहरुको शैक्षिक गुणस्तर सुधार गर्न अतिरिक्त कक्षा लगायत उनिहरुलाई चाहिने शैक्षिक सामाग्री समेत जोहो गर्दै आएको छ ।

– अर्को अंकमा प्रयासको धेरै कुरा समेट्ने छौ ।

(मिस नेपालगन्ज २०१९ को विजेता सन्ध्या शाह र उनको टिमले नेपालगन्जमा गरेको यो प्रयास फाउन्डेसनको सकारात्मक कार्य प्रती आभार प्रकट गर्दै नागरिक समाज परिवार यो प्रयासमा हातेमालो गर्न सबैमा अनुरोध गर्दछ)

प्रतिक्रिया